सुकुना मावि प्रकरणः पक्राउ परेका चार शिक्षक–कर्मचारी धरौटीमा रिहा

न्युजलय २९ साउन २०८३, शुक्रबार ०१:५८ मा प्रकाशित

इटहरी । सुन्दरहरैँचास्थित सुकुना माध्यमिक विद्यालयका छात्रामाथि यौनजन्य दुर्व्यवहार गरेको आरोपमा पक्राउ परेका चार शिक्षक तथा कर्मचारीलाई जिल्ला अदालत मोरङले धरौटीमा रिहा गरेको छ।

बुधबार न्यायाधीश शिवप्रसाद खनालको इजलासले चारै जनासँग धरौटी माग गर्दै मुद्दाको पुर्पक्ष धरौटीमा गर्ने आदेश दिएको हो। आदेशपछि उनीहरूले तोकिएको रकम बुझाएर रिहा भएका छन्।

अदालतका अनुसार सुन्दरहरैँचा–१२ का ३३ वर्षीय अविरल मास्के, सोही स्थानका ४० वर्षीय प्रदीप भट्टराई, सुन्दरहरैँचा–२ का ३० वर्षीय किशोरलाल गच्छदार र झापा बुद्धशान्ति–६ का ३९ वर्षीय भीमप्रसाद नेपाल धरौटीमा रिहा भएका हुन्।

मास्के, भट्टराई र नेपालसँग जनही १ लाख रुपैयाँ तथा गच्छदारसँग ७५ हजार रुपैयाँ धरौटी माग गरिएको थियो।

प्रहरीका अनुसार मास्के विद्यालयका शिक्षक तथा लेखापाल, गच्छदार र नेपाल शिक्षक तथा भट्टराई विद्यालयका बस चालक हुन्। उनीहरूलाई प्रहरीले साउन ४ गते पक्राउ गरेको थियो।