विराटनगर । मोरङको विराटनगरस्थित महेन्द्र मोरङ क्याम्पसका प्राध्यापकले उत्तरपुस्तिका साटफेर गरेको भन्दै विवाद भएको छ । प्राध्यापक राजन दत्तले उत्तरपुस्तिका साटफेर गरेको आरोप लगाइएको छ ।
स्नातक तहको पहिलो वर्षको परीक्षा दिएकी आफ्नी छोरीको उत्तरपुस्तिका उनले साटफेर गरेको विद्यार्थीको आरोप छ । विद्यार्थी सन्ध्या कायस्थको उत्तरपुस्तिका दत्तकी छोरी आस्थाको बनाइएको आरोप लगाइएको हो ।
परीक्षामा दत्तकी छोरी उत्तीर्ण भएकी छन् । दत्त सोही क्याम्पसमा अंग्रेजी विषयका प्राध्यापक हुन् ।
अंग्रेजी विषयको उत्तरपुस्तिका साटफेर गरिएका कारण सन्ध्या अनुत्तीर्ण भएको विद्यार्थी संगठनको आरोप छ ।
विवादपछि विद्यार्थीले बुधबार पार्किङ गरेर राखिएको बा१७च ८२३८ नम्बरको त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रकको गाडीमा आगजनी गरेका छन् ।
नियमित उत्तीर्ण हुने विद्यार्थीको रिजल्ट नकारात्मक आएपछि क्याम्पस प्रशासनले पुनः परीक्षा लिएको तर नतिजा नआएकाले आफू तनावमा परेको सन्ध्याले बताइन् ।
महेन्द्र मोरङ क्याम्पसका प्रमुख बाबुराम तिम्सिनाले यो विवाद कानुनी प्रक्रियामा गइसकेको बताए । अहिल्यै धेरै कुरा भन्न सकिने अवस्था नरहेको उनको भनाइ छ ।
यसैबीच, महेन्द्र मोरङ क्याम्पस र परीक्षा नियन्त्रकलाई प्रवेश गर्न नदिने भन्दै विद्यार्थी संगठनले आन्दोलन घोषणा गरेका छन् ।
विभिन्न चार विद्यार्थी संगठनले संयुक्त विज्ञप्ति प्रकाशित गरी समस्या समाधानमा चासो नदिए कडा संघर्ष गर्ने चेतावनी दिएका छन् । विद्याथीं संगठनले क्याम्पस प्रमुख र परीक्षा नियन्त्रकलाई कार्यालय प्रवेशमा रोक लगाएका छन् ।