पशुपतिनाथको जलहरी प्रकरणमा तीन जनालाई सफाइ

न्युजलय १९ बैशाख २०८१, बुधबार ०६:४९ मा प्रकाशित

काठमाडौं । पशुपतिनाथ मन्दिरको जलहरी प्रकरणमा आरोपित पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा मिलनकुमार थापासहित तीन जनालाई विशेष अदालतले सफाइ दिएको छ।

विशेष अदालतले मंगलबार कोषका सदस्य सचिव डा थापासहित कोषको तत्कालीन सदस्य सचिव डा प्रदीप ढकाल र कोषको स्टोर किपर अरुणकुमार श्रेष्ठलाई सफाइ हुने ठहर गरेको हो।

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले पशुपतिमा जलहरी राख्दा सुन हिनामिना गरेको आरोपमा गत असोज १४ गते तीन जनाविरूद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो।

अख्तियारले जलहरी राख्ने क्रममा करिब डेढ किलो सुन हिनामिना भएको दाबी गर्दै एक करोड १७ लाख रुपैयाँ भ्रष्टाचार गरेको आरोप लगाएको थियो।