इटहरी । सुनसरी र झापाका छुट्टा–छुट्टै स्थानबाट अवैध लागूऔषधसहित सातजनालाई प्रहरीले पक्राउ गरेको छ ।
प्रहरी चौकी चारआलीको प्रहरी टोलीले झापाको चारआली चौकबाट शंकास्पद अवस्थामा हिँडिरहेका झापाको मेचीनगर नगरपालिका–१४ का २२ वर्षीय अजय राजवंशी र मेचीनगर नगरपालिका–१२ का २२ वर्षीय समीर धिमालको साथबाट ३ ग्राम लागूऔषध ब्राउनसुगरसहित पक्राउ गरेको हो ।
यसैगरी वडा प्रहरी कार्यालय धरानले प्रतिबन्धित औषधि ट्रामाडोल १९२ एम्पुल र डिकोलिक १९२ एम्पुलसहित सुनसरीको धरान उपमहानगरपालिका–१० की १९ वर्षीया श्रद्वा क्षेत्री, २३ वर्षीय किसन राई, १५ वर्षीय गोपाल क्षेत्री र १७ वर्षीय उत्सब बिकलाई अवैध लागूऔषधसहित पक्राउ गरेको हो ।
यस्तै, अस्थायी प्रहरी पोष्ट बरगाछी धरानबाट खटिएको प्रहरीको टोलीले झापाको झापा घर भई हाल धरानको भोटेपुलमा होटल सञ्चालन गरी बसेका ६४ वर्षीय दिलबहादुर कार्कीलाई शंका लागेर चेकजाँच गर्दा उनको सुत्ने कोठा भित्रबाट स्पास्मोप्रोक्सिबन १०० ट्याब्लेट बरामद गरेको प्रहरीले जनाएको छ ।
अवैध लागूऔषधसहित पक्राउ परेका सातैजनामाथि सम्बन्धित प्रहरी कार्यालयहरूबाट आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।