मन्त्री किरातीको विरोधमा ठाउँ ठाउँमा पुत्ला दहन, को नेताले के भने ?

न्युजलय ६ पुस २०८०, शुक्रबार ०२:०२ मा प्रकाशित

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँती आफ्नो विवादास्पद अभिव्यक्तिका कारण आलोचित बनेका छन् । उनको राजीनामा माग्दै झापा, पोखरा, काठमाडौ लगायतका स्थानमा प्रदर्शन भएका छन् भने उनको पुत्लासमेत जलाइएको छ ।


बुधबार मन्त्री किराँतीले एक सार्वजनिक कार्यक्रममा दिएको अभिव्यक्तिको विरोध भएको हो । मन्त्री किराँतीले क्रिश्चियन धर्मलाई स्वीकार नगर्ने सबै संविधान विरोधी भएको र संविधान नमान्नेहरु देशद्रोही भएको आरोप लगाएका थिए । उनले क्रिश्चियन धर्म नस्वीकार्नेहरुलाई जेलमा राख्नुपर्ने अभिव्यक्ति दिएका थिए । 


उक्त कार्यक्रममै उनले क्रिश्चियन धर्मका प्रबर्तक जिसस क्राइस्ट विद्रोहबाट आएकोले आफूलाई र प्रधानमन्त्री पुष्पकमल दाहाललाई पनि मन पर्ने बताएका थिए । उनले दाहाललाई क्राइस्ट जस्तै विद्रोही भएको भन्दै तुलना गर्नसमेत भ्याए । गड्गडाहट तालीका बिचमा उनले उत्तेजक अभिव्यक्ति दिएका थिए ।


उनले 'नेपालको रङ्गीबिरङ्गी फूलबारीमा इसाई धर्मावलम्बीहरू पनि एक रहेको' उल्लेख गर्दै नेपालको लोकतन्त्रमा “नडराउन” उनीहरूलाई आश्वस्त तुल्याए।


उनले नेपालमा एक धर्म मानेर अर्को धर्ममाथि दमन गर्ने ठूला अधिकारीहरू पनि रहेको भन्दै भने, “ती सब मुर्दाबाद।”


“नेपालमा झन्डै तीन करोड जनसङ्ख्यामा आज लाखौँ क्रिश्चियन भइसकेका छन्। त्यो संविधानको अधिकारलाई प्रयोग गर्दै संवैधानिक अधिकारलाई मान्दै भएका हुन्,” मन्त्री किराँतीले भनेका छन्।


“क्रिश्चियनलाई मान्दिनँ भन्नु चाहिँ संविधान मान्दिनँ भन्नु हो। संविधान नमान्ने देशद्रोही हुन्। यदि कसैले देशद्रोह गर्छ भने त्यसलाई हत्कडी लगाउने, जेलमा हाल्दिने हो।”


उनले नेपालमा १० वटा धर्म मान्ने मानिसहरू रहेको जनगणनाको तथ्याङ्क प्रस्तुत गर्दै राज्यका आँखामा ती सबै धर्म समान भएको बताएका छन्।


आफू उक्त फूलबारीको माली भएको र राज्य अभिभावक रहेको मन्त्री किराँतीको भनाइ थियो। उनले धर्मनिरपेक्ष व्यवस्थामा राज्यको धर्म नहुने तर सबै धर्मलाई धार्मिक स्वतन्त्रता हुने बताए।


मन्त्री किराँतीको अभिव्यक्तिको देशव्यापी विरोध गरिएको छ । युवाहरुले आफूलाई जेल हाल्न चुनौति दिँदै सामाजिक सञ्जालमा लेखिरहेका छन् ।


बारे प्रश्न उठाउँदै भूतपूर्व उपप्रधानमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सामाजिक सञ्जालमा प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका छन्।


“संस्कृतिमन्त्री सुदन किराँतीको पछिल्लो अभिव्यक्ति, सामाजिक सद्भाव र सहिष्णुता खलबलाउने प्रकृतिको, उत्तेजक, गैरजिम्मेवार, पदीय गरिमाविपरीतको र अत्यन्तै खेदजनक छ। यस्तो गैरजिम्मेवार अभिव्यक्ति दिने र साम्प्रदायिक विद्वेष फैलाउने व्यक्ति संस्कृतिमन्त्री जस्तो जिम्मेवार पदमा कसरी बस्न मिल्छरु प्रधानमन्त्रीज्यू, गम्भीर ध्यानाकर्षण होस्,” लामिछानेले लेखेका छन्।


नेपालमा हिन्दू राज्यको वकालत गर्दै आएका राप्रपा नेपालका अध्यक्ष तथा भूतपूर्व उपप्रधानमन्त्री कमल थापाले किराँतीलाई पदबाट हटाउन प्रधानमन्त्रीसँग माग गरेका छन्।


“’क्रिस्चियन धर्म नमान्ने सबै देशद्रोही हुन्’ भन्ने गैरजिम्मेवार अभिव्यक्ति दिने पर्यटनमन्त्री सुदन किराँतीलाई तत्काल बर्खास्त गर्नुपर्दछ। प्रम ९प्रचण्ड० को ध्यान जाओस्। पदमा बसेर साम्प्रदायिक विद्वेष फैलाउने निजलाई कानुनबमोजिम कारबाही गरियोस्,” थापाले लेखेका छन्।


प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका नेता तथा पूर्वसञ्चारमन्त्री गोकुल बास्कोटाले त माओवादी पार्टी कसैलाई सेवा दिने मिसिनरी उद्योग भएको आरोप लगाएका छन् । 


आफ्नो अभिव्यक्ति आलोचित भएपछि त्यसबारे मन्त्री किराँतीले बिहीवार फेसबुकमा स्पष्टीकरण दिएका छन्। उनले बहसको लागि सबैलाई धन्यवाद भन्दै भ्रातृत्व र सहिष्‍णुता कायम गर्न आह्वान गरेका छन्।


 नेपालमा अहिले ८१.१९ प्रतिशत हिन्दूको जनसङ्ख्या छ। त्यस्तै दोस्रो स्थानमा रहेको बौद्ध धर्मावलम्बीको सङ्ख्या ८.२१ प्रतिशत, तेस्रो स्थानमा रहेको इस्लामको ५.०९ प्रतिशत र चौथो स्थानमा रहेको किराँतको ३.१७ प्रतिशत जनसङ्ख्या छ।


त्यस्तै इसाईहरूको जनसङ्ख्या १।७६ प्रतिशत तथा प्राकृत धर्म मान्नेहरूको सङ्ख्या ०.३५ प्रतिशत रहेको जनगणनाले देखाएको छ।