६ दिनमै हलबाट उत्रियो ‘छड्के २’

न्युजलय २५ फाल्गुण २०७९, बिहिबार १२:३५ मा प्रकाशित

काठमाडौं । अनमोल केसीको शीर्ष भूमिका रहेको ग्याङस्टर ड्रामा ‘छड्के २’ प्रदर्शनको ६ दिनमै क्यूएफएक्ससहितका मल्टिप्लेक्सबाट हटेको छ । वितरक सुनिल मानन्धरले दर्शक नै नआएपछि हलबाट फिल्म हटाइएको जानकारी आफूले पाएको बताए ।

वान सिनेमाज्, बिग मुभिज, आईएनआई लगायत मल्टिप्लेक्सले एक–एक शो उपलब्ध गराएपनि औंलामा गन्न सकिने संख्यामा मात्र दर्शकको उपस्थिति देखियो । 

वितरक मानन्धरका अनुसार फिल्मको पाँच दिने कमाइ ३० लाखभन्दा कम छ । तीन करोड रुपैयाँ बजेटमा निर्माण भएको फिल्ममा आफूले डेढ करोड लगानी गरेको र त्यो डुबेको उनले बताए ।

नायक र स्टारडम हेरेर पैसा लगानी गर्नेहरुलाई ‘छड्के २’को असफलताले सतर्क बनाएको उनले बताए । 

निगम श्रेष्ठ निर्देशित फिल्मले निकै कमजोर समीक्षा प्राप्त गरेको छ । ओपनिङमै फिल्मको अकुपेन्सी पाँच प्रतिशत हाराहारीमा मात्रै थियो । फिल्मलाई प्रशान्त गिरी र देवकुमार श्रेष्ठले निर्माण गरेका हुन् भने अनमोलले यो फिल्मबाट ५० लाख रुपैयाँ पारिश्रमिक लिएको जनाइएको थियो ।