काठमाडौं । नेपालमा खानेतेलको मूल्य घटेको छ ।
भारत सरकारले खानेतेलको कच्चा पदार्थमा लाग्ने आयात शुल्क घटाएसँगै खानेतेलको मूल्य घटेको हो । प्रतिकार्टुन ३ हजार २ सय रुपैयाँसम्म पुगेको भटमास तेलको मूल्य पछिल्लो १ सातामा ७ सयले घटेर २ हजार ५ सय रुपैयाँ कायम भएको छ ।
सूर्यमुखी तेलको मूल्य पनि कार्टुनमा ६ सय रुपैयाँसम्म घटेको छ । यसअघि प्रतिकार्टुन ३ हजार २ सयमा विक्री भइरहेको सूर्यमुखी तेल अहिले २ हजार ६ सय रुपैयाँमा पाइन्छ ।
भारतले तेलको कच्चा पदार्थ आयातमा लाग्ने शुल्क नघटाउँदासम्म नेपाली तेल उत्पादकले महँगो मूल्यमा भारतमा निकासी गर्न पाएका थिए । आयात शुल्क कटौतीसँगै भारतमै नेपालको भन्दा कम लागतमा तेल उत्पादन हुन थालेपछि यताबाट हुने निकासी लगभग ठप्प जस्तै भइसकेको छ ।
मूल्यका कारण सीमावर्ती क्षेत्रका नेपाली उपभोक्तासमेत खानेतेल किन्न पारि जाने स्थिति बनिसकेको व्यवसायी बताउँछन् । भारतले महँगी नियन्त्रण गर्न खानेतेलको कच्चा पदार्थमा लाग्ने आयात शुल्क घटाएको हो ।