नक्कली नोटसहित तीन जना पक्राउ

न्युजलय १८ माघ २०७८, मङ्गलबार १२:५९ मा प्रकाशित

काठमाडौं । प्रहरीले सुर्खेतबाट नक्कली नोटसहित तीन जनालाई पक्राउ गरेको छ ।


एक हजार रुपैँयाका ९ वटा नक्कली नोटसहित तीन जनालाई प्रहरीले सुर्खेतको छिञ्चुबाट पक्राउ गरेको हो । वीरेन्द्रनगर नगरपालिका १० का २६ वर्षीय आशिस बैगार, सोही वडाका २१ वर्षीय विवेक बि.क र भेरीगंगा ९ का २४ वर्षीय प्रमोद गुरुङ पक्राउ परेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।


प्रहरीका अनुसार नेपालगञ्जबाट सुर्खेततर्फ आउँदै गरेको कर्णाली प्रदेश ००२ ००१ ख ००६३ नम्बरको फोर्स गाडीलाई छिञ्चु तोलीखोलीस्थित चेक पोइन्टमा प्रहरी सहायक निरीक्षक युवराज ढकालको कमाण्डमा खटिएको टोलीले उनीहरूलाई आइतबार राति १० बजे पक्राउ गरेको हो ।


उनीहरूको साथबाट लागुऔषध नाइट्राभेट ८८५ ट्याबलेट पनि बरामद गरेको प्रहरीले जनाएको छ । तीनै जनालाई इलाका प्रहरी कार्यालय छिञ्चुको हिरासतमा राखी अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ ।