उर्लाबारी । संघीय सरकारले शिलान्यास गरेको एकीकृत सन्थाल वस्ती निर्माणको काम अलमलमा परेको छ । उर्लाबारीका मेयरकै असहयोगले निर्माण अलपत्र परेको उपमेयरसहित स्थानीय एमाले नेताहरुले आरोप लगाएका छन् । तर मेयर फागोले भने आरोपको खण्डन गरेका छन् ।
मोरङको उर्लाबारी–९ रातेहोली किनारमा एक वर्ष अघि शहरी विकास मन्त्रालय, शहरी विकास तथा भवन निर्माण विभागले निर्माण शिलान्यास गरेको उक्त परियोजना अलपत्र परेको छ । सो परियोजनाको शिलान्यास तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले ०७७ फागुन १८ गते गरेका थिए । डेढ वर्षमा निर्माण सकिने लक्ष्य राखिएको परियोजनाको काम अवरुद्ध बनेको हो ।
आदिवासी सन्थाल जातिका अति विपन्न एक सय ३२ परिवारलाई सुविधा सम्पन्न घर बनाएर राख्ने योजना थियो । १७ करोड लागतको को सो परियोजनाको ठेक्का समेत लगाइसकेको छ । सगुन कन्ट्रक्सनले जिम्मा पाएको परियोजना सात कट्ठा १६ धुर जग्गामा निर्माण हुनेछ । बस्तीभित्र बाल उद्यान, सन्थाल जातीय संग्राहालय पनि निर्माण गरिने योजना छ। तर, उर्लाबारी नगरपालिकाले स्थानीय राते होलीको खोला उकास जमीन खाली गर्न सहयोग नगरेकोले एकीकृत निर्माण कार्य अघि बढ्न सकेको छैन ।
उक्त जमिन केही मानिसहरुले जोतभोग गरिरहेका छन् । ती मानिसहरुलाई हटाउन मेयरले चासो नदिएको आरोप लगाइएको छ । त्यसै पनि नगर प्रमुख फागो आजभोलि अधिकांस समय सम्पर्क बाहिर रहने गरेका छन् । मोबाइल स्वीचअफ गरेर बस्ने फागोको प्रवृत्तीदेखि नगरवासी दिक्क छन् ।
केही काँग्रेस नेताहरुले भने नम्बरी जग्गामा खोलो कुदेको र साविक खोलो भएको उकास जमीन स्थानीय २६–२७ परिवारले उपभोग गरिहेको दाबी गरेका छन् । उनीहरुलाई त्यहाँबाट हटाउन कुनै प्रयास गरिएको छैन ।