मिरगञ्ज पुल सञ्चालनमा ल्याउन बिहार सरकारलाई ज्ञापनपत्र

न्युजलय २५ माघ २०७८, मङ्गलबार ०१:३१ मा प्रकाशित

विराटनगर । नेपाल–भारत सामान ढुवानीको बिचमा पर्ने मिरगन्ज पुल निर्माणमा चासो दिन नेपालका व्यापारीहरुले विहार सरकारसँगमाग गरेका छन् । उक्त बेलीब्रिज (पुल) तत्काल सञ्चालनमा ल्याउन उद्योगी व्यवसायीले माग गरेका छन् । मोरङ व्यापार संघका नवनिर्वाचित अध्यक्ष नवीन रिजालसहितको प्रनिनिधि टोलीले विहार राज्यका कला, संस्कृति तथा युवा मामिलामन्त्री आलोक रञ्जनलाई भेटेर गरी उक्त पुल यथाशीघ्र सञ्चालनमा ल्याउन ज्ञापनपत्र बुझाएको छ ।

मिरगञ्जको बेलीब्रिज भासिएपछि भारतबाट आउने सामान १३० किलोमिटर घुमेर सुनसरी हुँदै विराटनगर भन्सार कार्यालय ल्याउनुपर्ने बाध्यता छ । पछिल्लो समय निर्माण सकिएर तयारी अवस्थामा रहेको मिरगञ्जको पक्की पुल सञ्चालन नभएपछि निजीक्षेत्रले नै त्यसका लागि पहल गरेको हो ।

भारतीय मन्त्री रञ्जनले नेपाली टोलीलाई नेपाल भारत आवागमनमा भइरहेको समस्याबारे बुझ्न आमन्त्रण गरेका थिए । आमन्त्रण स्वीकार गर्दै रिजाल नेतृत्वको टोली पटना पुगेर उनलाई ज्ञापनपत्र बुझाएको हो ।

दैनिक करिब ४ सय मालवाहक सवारीसाधनले लामो बाटो तय गर्नुपर्ने बाध्यता छ । जसबाट ढुवानीमा प्रतिसवारीसाधन २० हजार रुपैयाँ लागत बढ्ने गरेको छ ।

संघले ज्ञापनपत्रमा विराटनगर नाकाबाट नेपाल प्रवेश हुनुपर्ने ३० मेट्रिक टनसम्मका सवारीसाधन तथा भारत फर्किने खाली सवारीसाधनका लागि अररिया–कुर्साकाँटा–जोगबनी मार्ग खुला गरिनुपर्ने, क्षतिग्रस्त मिरगञ्ज पुलको छेउमा अन्तिम चरणमा निर्माणाधीन चार लेनको नयाँ पुललाई अस्थायी रूपमा तत्काल सञ्चालनमा ल्याउनुपर्ने तथा क्षतिग्रस्त मिरगञ्ज पुलको मर्मत कार्यसमेत शीघरूपमा गर्नुपर्ने लगायत सुझाव प्रस्तुत गरेको छ ।