म्याग्दीमा पहिरोमा पुरिएर ५ जनाको मृत्यु

न्युजलय १७ साउन २०७९, मङ्गलबार ०७:३४ मा प्रकाशित

म्याग्दी । म्याग्दीको मालिका गाउँपालिका–२ रुमको घाङ्लेपानीमा पहिरोमा पुरिएर ५ जनाको मृत्यु भएको छ ।

प्रहरीका अनुसार मंगलबार बिहान खसेको पहिरोले पुर्दा गोठे विकका छोराहरु १७ वर्षीय नवीन र १४ वर्षीय राजन विकको घटनास्थलमै मृत्यु भएको थियो ।

पहिरोमा पुरिएका छिमेकी परिवारका ३७ वर्षीय घामबहादुर, उनकी ३२ वर्षीया श्रीमती राममाया र ८ वर्षीया छोरी रोजीको मृत्यु भएको हो । पहिरोमा पुरिएका उनीहरुको शव स्थानीयले पहिरो खनेर निकालेका हुन् ।

पहिरोमा परी घाइते भएका ६२ वर्षीय गोठे विक र उनकी ६७ वर्षीया गोरी विकको स्वास्थ्यचौकीमा उपचार भइरहेको छ ।

प्रहरीले वर्षा नरोकिएको र खराब मौसमको कारण घाइतेको उद्धारमा हेलिकोप्टर पठाएर उद्धार गर्न समस्या भएको जनाएको छ ।