काठमाडौं । नेपाली महिला भलिबल टोलीले उत्कृष्ट पुनरागमन गर्दै श्रीलंकामाथि रोमाञ्चक जित निकालेको दिन एसियन सेन्ट्रल जोन महिला तथा पुरुष भलिबल च्याम्पियनसिपमा पुरुष टोलीले भने बंगलादेशलाई ३-० को नतिजा सुम्पिएको छ ।
बंगलादेशको ढाकास्थित सहिद सुरावर्दी कर्भडहलमा बंगलादेशले २५–१७, २५–१७, २५–१८ को स्कोरमा विजय हासिल गरेको हो ।
नेपाली पुरुष टोलीले अब दोस्रो खेल शुक्रबार उज्वेकिस्तानविरूद्ध खेल्नेछ ।
प्रतियोगिताका लागि पुरुष टोलीले नेदरल्यान्डका मुख्य प्रशिक्षक हान एबिङको प्रशिक्षणमा एक महिनादेखि तयारी गरेको थियो । ओपन स्पाइकर मानबहादुर श्रेष्ठ र मिडिल ब्लकर भैरव बमले पुनरागमन गरेका थिए ।