काठमाडौँ । भारतीय राज्य ओडिसाको भुवनेश्वरस्थित कलिंगा इस्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) मा अध्ययनरत ५०० भन्दा बढी नेपाली विद्यार्थीलाई विश्वविद्यालयबाट निकालिएको छ । देश निकाला गर्ने शैलीमा ती विद्यार्थीलाई विश्वविद्यालयको बस चढाएर कटक रेल्वे स्टेसनमा लगिएको र त्यहाँबाट उनीहरूलाई घर फर्कन भनिएको छ। विद्यार्थीहरु आफ्ना सरसामान बोकेर अलपत्र परेका छन् ।
बीटेकमा अध्ययनरत बुटवलकी प्रकृति लम्सालले आइतबार आत्महत्या गरेपछि विरोध गरेका नेपाली विद्यार्थीहरुलाई कलेज व्यवस्थापनले विश्वविद्यालय छोड्न निर्देशन दिएको थियो । सोमबार विश्वविद्यालय रजिष्ट्रार कार्यालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘विश्वविद्यालय नेपालका सबै अन्तर्राष्ट्रिय विद्यार्थीहरूका लागि अनिश्चितकालका लागि बन्द गरिएको छ। उनीहरूलाई आज (१७ फेब्रअरी २०२५) मा तुरून्तै विश्वविद्यालय परिसर खाली गर्न निर्देशन दिइन्छ।’
भारतीय विद्यार्थी आद्विक श्रीवास्तवले लगातार गर्दै आएको दुर्व्यवहार सहन नसकेपछि लम्सालले आत्महत्या गरेको बताइएको छ । उनले विश्विद्यालयको अन्तर्राष्ट्रिय सम्बन्ध विभागमा सहयोग मागेपनि विभागले वेवास्ता गरेको थियो । यो घटनापछि विश्वविद्यालय परिसरमा विरोध प्रदर्शनसमेत भएका छन्।
घटना सार्वजनिक भएपछि नेपालमा विभिन्न विद्यार्थी संगठनहरूले त्यसबारेमा सरकारसँग जबाफ माग गरेका छन्।
प्रधानमन्त्री केपी शर्मा ओलीले घटनाबारे कुटनीतिक तवरबाट बुझ्ने काम भइरहेको बताएका छन्।