इटहरी । किरात राई बान्तावा खिम केन्द्रीय कार्यसमितिको तेश्रो बार्षिक साधारणसभा समपन्न भएको छ ।
शनिबार सुनसरीको इटहरी स्थित तायारिप्ची बहुउद्देश्यीय भवनमा प्रदेश १ का स्वास्थ्यमन्त्री जयराम यादवको प्रमुख आतिथ्यतामा उक्त कार्यक्रम सम्पन्न गरिएको हो ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि एवं मन्त्री यादवले प्रदेश नं १ पहिले देखि नै बहुजाति, भाषाभाषीको बसोबास रहेको बताए । मन्त्री यादवले संघीय लोकतान्त्रिक गणतन्त्र प्राप्त भएपछि आनदिबासी जनजाति, महिला, मुस्लिम लगाएत सबैको पहुँच वृद्धि भएको उल्लेख गरेका थिए ।
किरात शब्द कुनै एक जाती विशेषको नभएर प्रदेशकै पुरानो सभ्यता भएको उल्लेख गर्दै खिमका केन्द्रीय अध्यक्ष ज्ञान किराती काम्दुङले प्रदेश नं। १ को नाम किरात राख्न उपयुक्त रहेको बताएका छन् ।
कार्यक्रममा बान्तावा भाषाका (वंशका) पहिलो पिएचडी डा. इश्वरकुमार राईलाई सम्मानस्वरुप फेटा गुठाएर सायाचोङ्मा (शिर उठाउने) गरिएको थियो ।
खिमको तेश्रो बार्षिक साधारणसभाको अवसरमा ‘प्रसाद राई स्मृति पुरस्कार र कमानसिंह काम्दुङ राई स्मृति पुरस्कार बाट दुई स्रष्टालाई पुरस्कृत गरिएको छ ।
बान्तावा भाषाको (आखोमाङओ लेन्ची मित्सा) पहिलो उपन्यासकार भोजपुर हतुवागढी–२ निवासी राम कुमार राईलाई २० हजार पुरस्कार राशीको प्रसाद राई स्मृति पुरस्कार २०७८ बाट पुरस्कृत गरिएको हो ।
त्यस्तै २० हजार पुरस्कार राशी रहेको कमानसिंह काम्दुङ राई समृति पुरस्कार २०७८ बाट बान्तावा संस्कृति तथा इतिहास क्षेत्रमा अनुसन्धान तथा लेखनकार्यमा योगदान पुर्याएका भोजपुर हतुवागढी घर भई हाल ललितपुर निवासी राजु कुमार राईलाई पुरस्कृत गरिएको हो ।
कार्यक्रममा राजकुमार नुमिहाङ राई नुमिहाङ (पाछिय संस्थाबाट) पदम राई (सल्लाहकार, भाषाशास्त्री तथा बुङ्वाखा सम्पादक), जितपाल किराँत सुच्चा (लुहुन वंशावली संस्थाबाट), किवाङ्हाङ राई लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
खिमका अध्यक्ष ज्ञान किराती काम्दुङले बार्षिक प्रतिवेदन र कोषाध्यक्ष सृजनशरन बान्तावाले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।
कार्यक्रममा बान्तावा खिमका उपाध्यक्ष जितुमान ताङ्लुक्वा बान्तावाले स्वागत मन्तव्य व्यक्त गरेका थिए भने खिमका सचिव रिता राराहाङ राईले कार्यक्रमको सञ्चालन गरेका थिए ।
खिमका केन्द्रीय अध्यक्ष ज्ञान किरातीको अध्यक्षतामा सम्पन्न सभामा बान्तावा राई भित्रका बिभिन्न पाछिय संस्थाहरुबाट नुमिहाङ, मुकारुङ, बुत्ताङ, माक्रेहाङ, ड्याम, रुङ्माहाङ, सोङ्मेन, बुङ्छेन, सिप्तुङ्खा, ताङ्लुक्वा लगायत पाछाहरुको उपस्थिति रहेको थियो ।