टिकटकमा ‘आहा पाउन किसानको बाली ‘स्वाहा’ पार्ने किसानमारा हर्कत

शंकर खत्री २७ फाल्गुण २०७८, शुक्रबार ०६:११ मा प्रकाशित

इटहरी । विश्वभर अधिक प्रयोग गरिने सामाजिक सञ्जालको सूचीमा केहि समयअघिसम्म फेसबुकलाई उछिनेर अहिले टिकटक पहिलो स्थानमा छ । छोटो समयमा भाइरल बन्ने गतिलो सामाजिक सञ्जालको रुपमा स्थापित टिकटकमा भाइरल बन्नकै लागि अराजकता देखाउन पनि यसका प्रयोगकर्ता पछि पर्दैनन् । त्यसको एउटा गतिलो उदाहरण बनेको छ, बेलबारीको क्यामोमाइल खेतीमा टिकटक प्रयोगकर्ताहरुले गरेको ध्वंश ।

क्यामोमाइल एक औषधीय गुणले युक्त जडिबुटी हो । यसको प्रयोग क्यान्सर रोगको निदान देखि यौनजन्य रोगको निराकणका लागि समेत गरिन्छ । बेलबारीमा यसैको खेती गरिएको छ र आजभोलि क्यामोमाइम फुल्ने बेला हो ।

बेतना सिमसार नजिकै जडिबुटी उत्पान तथा प्रसोधन कम्पनी लिमिटेड तरहराले लगाएको क्यामोमाइल खेतीमा यो वर्ष ‘टिकटक’ प्रयोगकर्ताका कारण ठूलो क्षती पुगेको छ । पूर्व–पश्चिम राजमार्गमा नै टाँसिएर रहेको यो खेतीमा अहिले क्यामोमाइल लोभलाग्दो भएर फुलेको छ । सोहि कारण ‘टिकटक’का प्रयोगकर्ताको रोजाइमा यो ठाउँ परेको हो । यहाँ आउने ‘टिकटक’ प्रयोगकर्ताहरुले यसको जिलिनै नास गर्ने गरि उखाल्ने र कुल्चिने गरेपछि ठूलो क्षती पुगेको हो । 

लिमिडेटका शाखा प्रमुख कमल राई आफूहरुले लगाएको फूल खेतिमा आन्तरिक पर्यटकको आगमन हुन सुखद भए पनि मानिसहरुको अराजकताको पराकाष्ठाले समस्या उत्पन्न भएको बताउँछन् । ‘हाम्रो फूल खेतिले यहाँ आउने मानिसको संख्या त बढायो’, उनले भने, ‘तर यसले गर्दा हामीले लगाएको सबै क्यामोमाइल नै नष्ट हुने भयो ।’ 

१५ विघामा क्यामोमाइल लगाएर कम्पनीले वार्षिक ५० देखि ६० लिटरसम्म क्यामोमाइलको तेल उत्पादन गर्दै आएको छ । यसको मूल्य प्रतिलिटर ५० हजार रुपैयाँ पर्छ । तर अहिले ‘टिकटक’ प्रयोगकर्ताहरुको असावधानी र अराजकताका कारण कम्पनीले तेल नै उत्पादन गर्न नसक्ने अवस्थामा पुगेको शाखा प्रमुख राई बताउँछन् । 

सोही कारण कम्पनीले अहिले ‘टिकटक’ प्रयोगकर्ताको भिड नियन्त्रणका लागि प्रहरी, वन कार्यालयका कर्मचारी र स्वय कार्यालयका कर्मचारी पनि परिचालन गरेको उनले जानकारी दिए । ‘वन कार्यालयका कर्मचारी, इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी र हामी आफै गरि झण्डै १० देखि १५ जनासम्म दैनिक रुपमा खेतमा खट्नु परेको छ,’ उनले भने, ‘तर पनि भिड नियन्त्रण गर्न सकेका छैनौँ ।’

एउटा चर्चित नेपाली उखान छ नि, ‘बुझ्नेलाई श्रीखण्ड नबुझ्नेलाई खुर्पाको बिँड’ यो उखान यहाँ चरितार्थ हुन्छ । अझ यहाँ त बुझेका अर्थात् शिक्षित वर्ग नै भेडा बनेका छन् भन्दा पनि फरक पर्दैन । सैद्धान्तीक शिक्षाले मात्रै नभएर यो घटनाले नेपालमा व्यवहारीक शिक्षा पनि अपरीहार्य रहेको देखिएको शाखा प्रमुख राई बताउँछन् ।

 ‘हामीले पढेका रहेनछौँ जस्तो लाग्न थालेको छ हामीलाई कि अरुको बाली, अरुको खेति विर्गान नहुने रहेछ भनेर,’ उनले भने, ‘शिक्षित मान्छेले यस्तो गर्नु हुँदैन भनेर पढेको हुनुपर्ने हो तर रहेनछ ।’ ‘टिकटक’ बनाउनकै लागि यहाँ मोरङ, झापा, सुनसरी, इलाम, पाँचथर, धनकुटा लगायतका प्रदेश १ का जिल्लाबाट मात्रै नभएर प्रदेश १ बाहिर काठमाडौँ र पोखरबाट समेत मानिसहरु आउने गरेको पाइएको छ । जडिबुटी उत्पादन गर्ने हेतुले गरिएको खेतिमा जथाभावी मानिस प्रवेश गर्ने र नोक्सान गर्ने गरेको देख्दा यहाँका स्थानीयलाई पनि दुःख लाग्ने गरेको छ । 

केहि दिन अघि ‘टिकटक’ बनाउनेको भिड लखेट्दै ‘जाओ यहाँबाट यहाँ हामीलाई हेर्न राखेको हो, किन उखाल्छौँ’ भन्दै पशुलाई झैँ एक वृद्धले लखेटेको दृश्य पनि ‘टिकटक’मा भाइरल भएको थियो । कम्पनिले लगाएपनि उक्त खेतीमा स्थानीयहरुको सहभागिता हुने गर्छ । स्थानीहयरुले नै मजदुरी गरेर रोप्नेदेखि गोडमेल र टिप्ने सम्मको काम गर्छन् । बाली नै नष्ट हुने अवस्था आएपछि स्थानीय किसान र मजदुरहरुसमेत निराश छन् ।

यहाँ आउने ‘टिकटक’ प्रयोगकर्ताको हर्कत देखेर सामाजिक सञ्जालमा उनिहरुलाई धेरैले ‘बाँदर’को संज्ञा दिएका छन् ।  ‘टिकटक’ बनाउनेकै कारण यो वर्ष कम्पनीले ३० लाख रुपैयाभन्दा बढीको क्षति भोग्नु पर्ने भएको छ । जसले गर्दा कम्पनीको आयस्रोत मात्रै नभएर औषधीसमेत अभाव हुने अवस्था सिर्जना हुनसक्ने तर्फ कम्पनीले चेतावनी दिएको छ ।

तर यहाँ आउने ‘टिकटक’ प्रयोगकर्ता भने टिकटकको कारण यो ठाउँको प्रचारप्रसार भइरहेको दावी गर्छन् । ‘हामीले गर्दा यहाँ आउनेको संख्या बढेको छ’, एक अवलोकनकर्ताले भने । 

अहिले समाजिक सञ्जालमा यहाँको विषयलाई लिएर तर्क वितर्क भइरहेका छन् । ति मध्ये अधिकांसले ‘टिकटक’ प्रयोगकर्ताबाट भएको यो हर्कतको निन्दा गर्दै कारबाहीको माग गरेका छन् ।