घोडेटार । भोजपुर जिल्लाको हतुवागढी गाउँपालिकाको कार्यलयले कोभिड १९ नियन्त्रण सम्बन्धि ७ बुँदे निर्देशन जारी गरेको छ ।
सोमबार बसेको गाउँपालिका स्तरीय विपत व्यवस्थापन द्रुत प्रतिकार्य टोलीको बैठकले उक्त निर्णय गरेको हो ।
कार्यलयले एक सुचना जारी गर्दै सार्वजनिक स्थलहरुमा धेरै जना मानिसहरुको उपस्थिति हुने प्रकारको कार्य एवं कार्यक्रम नगर्न निर्देशन दिएको छ ।
कोभिड १९ को तेस्रो भेरियन्टलाई प्रभावकारी रुपमा रोकथाम र नियन्त्रणका लागि नेपाल सरकारको निर्णयहरु, सिसिएमसि, डिसिसिएमसिले तोकेको मापदण्डहरुको परिपालन कडाइका साथ गर्ने गराउने तथा स्वास्थ्य सुरक्षाको मापदण्ड पूर्ण रुपमा पालना गराउने जारी सुचनामा उल्लेख छ ।
सार्वजनिक स्थलाहरुमा (सरकारी कार्यलय, बैंक, वित्तीय संस्था आदि) सेवा लिन प्रवेश गर्दा कोभिड १९ विरुद्धको खोप लगाएको कार्ड देखाइ प्रवेश गर्न गराउन निर्देशन दिइएको छ ।
घोडेटारमा लाग्ने शनिबारे हटियामा बजार भर्ने तथा जमघट गर्न अर्को सुचना जारी नभए सम्मको लागि पूर्ण रुपमा निषेध गरिएको छ ।
दैनिक उपभोग्य सामाग्री तथा स्थानीय कृषि उत्पादनहरु (तरकारी, फलफूल) शनिबार बाहेक भिडभाड नहुनेगरी डुलाएर बिक्रीवितरण गर्न पाइने छ ।
सार्वजनिक सवारी साधनहरुमा स्वीकृत सिट क्षमता भन्दा बढी यात्रु नराख्न तथा यात्रा गर्ने व्यक्तिहरुले अनिवार्य खोप कार्ड देखाइ सेनिटाईजर, मास्कको प्रयोग गर्न गराउन निर्देशन दिइएको छ ।
हाल फैलिरहेको कोरोना भाइरस (कोभिड १९) रोकथाम तथा नियन्त्रण गर्न उल्लेखित विषयहरुमा जानकारी दिनका लागि इलाका प्रहरी कार्यलय घोडेटारले जनचेतनामूलक जिङ्गल प्रशारण साथै माइकिङ गर्नेछ ।
जारी निर्देशन पालना भए नभएको विषयमा गाउँपालिकाको कार्यलयले अनुगमन गर्ने तथा उल्लेखित सुचनाको बर्खिलाप गरे संक्रमण रोग ऎन २०२० बमोजिम कारबाही गरिने जारी सुचनामा उल्लेख छ ।