सुनसरी । सुनसरीको रामधुनीमा आठ वर्षीया बालिका बलात्कृत भएकी छन् ।
स्थानीय युवकले पटकपटक बलात्कार गरेपनि घटना केहीदिनअघि मात्रै सार्वजनिक भएको हो । घटना सार्वजनिक भएकै दिन राति पीडितका बुबाले आत्महत्या गरेको खुलेको छ ।
जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार छिमेकी रामधुनी नगरपालिका–३ का २४ वर्षीय विश्वमणि आचार्यले छिमेकी बालिकालाई पटकपटक बलात्कार गरेको र घटना सार्वजनिक भएपछि पीडितका २८ वर्षीय बुवाले आत्महत्या गरेका खुलेको छ ।
पुष १८ गते बलात्कार भएको र त्यसको दुई महिनापछि घटना सार्वजनिक भएकै दिन उनका बुबाले आत्महत्या गरेको खुलेको प्रहरीले जनाएको छ ।
पीडितले फागुन १९ गते इलाका प्रहरी कार्यालय पकलीमा जाहेरी दिएसँगै आरोपित आचार्यले आफैँ आत्मसमर्पण गरेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार आरोपित आचार्यमाथि जिल्ला अदालत सुनसरीबाट सात दिनको म्याद लिएर आवश्यक अनुसन्धान सुरु गरिएको छ ।
पीडित बालिकाको धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा स्वास्थ्य परीक्षण गरिएको र रिपोर्टको पर्खाइमा रहेको प्रहरीले जनाएको छ ।