मोरङमा मोटरसाइकलको ठक्करबाट साइकल यात्रीको मृत्यु

न्युजलय १५ फाल्गुण २०७८, आइतबार ०२:५७ मा प्रकाशित

विराटनगर । मोरङको ग्रामथान गाउँपालिका–५ बांगेमा तीव्र गतिमा रहेको मोटरसाइकलले ठक्कर दिंदा साइकल यात्रीको मृत्यु भएको छ। विराटनगर–विराट चोक सडक खण्डमा उत्तरबाट दक्षिणतर्फ आउँदै गरेको को २० प २४७० नम्बरको मोटरसाइकलले शनिबार साँझ ६ बजेतिर साइकललाई ठक्कर दिँदा दुर्घटना भएको हो। 


प्रहरीका अनुसार दुर्घटनामा साइकल यात्री ग्रामथान–५ का ५५ वर्षीय शोभालाल माझीको मृत्यु भएको हो। दुर्घटनामा परेर गम्भीर घाइते भएका माझीलाई उपचारका लागि विराटनगरको गोल्डेन अस्पताल ल्याइएको थियो। उनको उपचारकै क्रममा राति ८ः३० बजे मृत्यु भएको प्रहरीले जनाएको छ। 


दुर्घटनालगत्तै मोटरसाइकल चालक २८ वर्षीय नवराज मण्डल फरार भएका छन्। उनको खोजी जारी राखेर घटनाको अनुसन्धान सुरु गरिएको मोरङ ट्राफिक प्रमुख प्रहरी निरीक्षक चन्द्रबहादुर खड्काले बताए। उनका अनुसार चालकले सवारी चालक अनुमति पत्र (लाइसेन्स) प्राप्त नगरिकन मोटरसाइकल चलाएको पाइएको छ।