इटहरीमा ज्वाइले खुकुरी प्रहार गरी जेठी सासुको हत्या

न्युजलय २३ असोज २०८०, मङ्गलबार १०:३४ मा प्रकाशित

इटहरी । सुनसरीको इटहरी १७ मझौरा टोलस्थित खुकुरी प्रहार गरी एक महिलाको बीभत्स हत्या भएको हो ।


सोमबार दिउँसो ३ः४५ बजे भोजपुर साल्पा सिलिचो गाउँपालिका-९ का ४९ वर्षीय निमा तामाङले मझौरा टोल बस्ने ३५ वर्षीया कमला तामाङको हत्या गरेका हुन् । 

सामान्य विवादको क्रममा कमाललाई खुकुरी प्रहार गरी गम्भीर घाइते बनाएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय पकलीबाट खटिएको प्रहरीले निमालाई खुकुरीसहित पक्राउ गरेको हो । 

गम्भीर घाइते भएकी कमलाको धरान घोपा हुँदै न्युरो अस्पताल विराटनगरमा थप उपचारको क्रममा मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । उनीहरूबीचको सम्बन्ध जेठी सासु–ज्वाइ रहेको छ । मृतकको बहिनीसँग नीमाले पहिला बिहे गरेको र अहिले डिभोर्स भएको भनिएको छ । नीमाले कमलाको घाँटीमा पटकपटक खुकुरी प्रहार गरी हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । 


यसअघि पनि सामान्य विवाद हुँदै आएको र यसपटक भने खुकुरी नै बोकेर नियोजित ढंगबाट प्रहार भएको स्थानीयले बताएका छन् । मृतक कमलाका श्रीमान वैदेशिक रोजगारीका लागि मलेसियामा छन् । मृतककी दुई छोरी रहेका छन् ।