आजदेखि काठमाडौंका घरघरमा मेलम्चीको पानी

न्युजलय ११ बैशाख २०७९, आइतबार ०२:५२ मा प्रकाशित

काठमाडौं । मेलम्चीबाट ल्याइएको पानी आजदेखि फेरि काठमाडौंका घरघरमा पठाइने भएको छ।


गत असारमा मेलम्चीमा आएको बाढीले आयोजनालाई क्षति पुगेको थियो।

 

क्षति भएका संरचना निर्माण गरेर काठमाडौं ल्याइएको पानी आजदेखि घरघरमा पठाउन लागिएको हो।


खानेपानी मन्त्री उमाकान्त चौधरीले आज बिहान ९ बजे नयाँ बानेश्वरस्थित पानी वितरण केन्द्रबाट पानीको निकास खुला गरेपछि घरघरमा पानी वितरण सुरू हुनेछ।

 

गत चैत २९ मा मेलम्चीबाट पानी काठमाडौं पठाउन सुरू गरिएको थियो। गत माघ १४ गतेदेखि मेलम्ची आयोजनाको मर्मत गरिएको थियो। दुई महिनामा मर्मत सकेर पानी काठमाडौं ल्याइएको छ।


मेलम्चीको पानी काठमाडौं आएपछि यहाँ देखिएको पानी संकट समाधान हुने मन्त्री चौधरीले बताउने गरेका छन्। मेलम्चीबाट दैनिक १७ करोड लिटर पानी काठमाडौं आउनेछ।