बालेन लक्षित काठमाडौँ प्रशासनको विज्ञप्तिः जथाभाबी वक्तव्यबाजी नगर्नू

न्युजलय १८ भदौ २०८०, सोमबार ०७:५४ मा प्रकाशित

काठमाडौँ । काठमाडौँ जिल्ला प्रशासन कार्यालयले सरकारी काममा खटिएका राष्ट्रसेवकहरूलाई निरुत्साहित हुने अभिव्यक्ति नदिन आग्रह गरेको छ । 

काठमाडौँ महानगरपालिका मेयर बालेन शाहको अभिव्यक्तिप्रति लक्षित गर्दै जिल्ला प्रशासन कार्यालयले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

आफ्नो पदीय जिम्मेवारी र कर्तव्य पालना गर्न लागेका राष्ट्रसेवक कर्मचारीहरूलाई कर्तव्य पालनामा बाधा अवरोध नपुयाउन र जथाभाबी वक्तव्यबाजी नगर्न सबैमा प्रशासनको आग्रह छ ।

जिल्ला प्रशासन कार्यालयले सार्वजनिक बिदाको दिनमा सरकारी गाडी प्रयोग गर्दा तोकिएका अधिकारीबाट जारी भएको सवारी पास बोक्नुपर्ने नियम समेत सम्झाएको छ ।

लोकतन्त्र र विधिको शासनले कानुनको दृष्टिमा सबै समान रहेको भन्दै प्रचलित कानुनको बर्खिलाप गरिने जुनसुकै गतिविधि नियन्त्रण गर्न र विधिको शासन प्रत्याभूत गर्न स्थानीय प्रशासन तथा सुरक्षा निकाय प्रतिबद्ध रहेको विज्ञप्तिमा उल्लेख छ ।