नोबेलमा भोजपुरका एक युवकको पेटबाट निकालियो पेटीको ‘बक्कल’ र सिक्री

न्युजलय २ चैत २०७८, बुधबार ०४:१४ मा प्रकाशित

विराटनगर । नोबेल शिक्षण अस्पताल विराटनगरले एक विरामीको पेटबाट पेटीको ‘बक्कल’ र सिक्री निकालेको छ । 

भोजपुर नगरपालिका–१२ टक्सारका २१ बर्षीय युवाको पेटबाट कम्मरमा बाध्ने पेटीको बक्कल र घाँटीमा लगाउँने फलामको सिक्री निकालेको होे ।

परिवार स्रोतका अनुसार ती युवाले आत्महत्या प्रयास गर्ने क्रममा आफैले कम्मरमा लगाएको पेटीको बक्कल र घाँटीमा लगाएको सिक्री निलेका थिए । घटनापछि उपचारका लागि नोबेल ल्याइएका ती युवाको पेटबाट दुवै सामान निकालिएको हो । इण्डोस्कोपिक विधिमार्फत पेटमा भएको बक्कल मुखबाट निकालिएको नोबेलका बिशेषज्ञ शल्यचिकित्सक डा.ध्रुव नारायण शाहले जानकारी दिए ।

युवाको पेटको खाना नलीमा बक्कल अड्किएको थियो भने सिक्री आमाशयमा रहेको बताइएकबो छ । मुखबाट इण्डोस्कोप छिराएर मुखबाटै बक्कल निकालिएको हो । आमाशयमा रहेको सिक्री भने दिसाको माध्यमबाट निस्किएको हो । 

अहिले ती युवाको स्वास्थ्य अवस्था सामान्य छ । स्वास्थ्य अवस्था सामान्य बनेपछि उनलाई डिस्चार्ज गरिएको नोबेल अस्पतालले जनाएको छ ।