कोरोना नियन्त्रणमा अहिलेको प्रदेश सरकार पूर्ण रुपमा तयार छः मन्त्री यादव

शंकर खत्री २६ पुस २०७८, सोमबार ०५:०६ मा प्रकाशित

इटहरी । प्रदेश १ का सामाजिक विकास मन्त्री जयराम यादवले कोरोना भाइरसको सम्भावित तेश्रो लहर अर्थात् ओमिक्रोन भेरियन्टको नियन्त्रण गर्न प्रदेश सरकारले कुनै कसरत बाँकि नराख्ने बताएका छन् । 

उनले पहिलेको भेरियन्ट भन्दा अहिले देखिएको भेरियन्ट निक्कै घातक भए पनि त्यसको प्रभाव कम गर्न प्रदेश सरकार सक्षम रहेको जिकिर गरेका छन् । प्रदेश सरकारले तेश्रो लहर न्यूनिकरणका लागि पूर्वतयारीका सम्पूर्ण काम चुस्तदुरुस्त पार्दै लगेकाले जोखिम कम हुनेमा आफू विस्वस्त रहेको उनले बताए ।

 ‘अब विगतको भन्दा त हाम्रो प्रदेश सरकार पूर्ण रुपमा तयारी अवस्थामा छौँ’, मन्त्री यादवले भने, ‘र, कोभिडको नियन्त्रणलका लागि आवश्यक पर्ने विभिन्न माध्यमहरु हामीले तयार अवस्थामा राखेका छौँ ।’

पूर्व तयारीसँगै कोरोना भाइरस विरुद्धको खोपलाई पनि प्रदेश सरकारले प्राथमिकताका साथ अगाडि बढाएको बताए । उनले सरकारले तोकेको मापदण्डमा पर्ने सबै प्रदेशका नागरिकलाई खोप पुर्याउन प्रदेश सरकार लागिपरेको उनले जानकारी दिए । ‘अहिले जुन कोरोनाको भ्याक्सिन लाउनु पर्ने हो त्यो पनि उमेरहद तोकेका सबैलाई लागउन लागि परेका छौँ’, उनले भने, ‘१२ वर्षदेखि १८ वर्षकालाई पनि लगाउन सुरु गरेका छौँ । र स्कुल कलेजहरुमा पनि त्यो पर्याउनु पर्छ भनेर हामी लागि परेका छौँ ।’

अहिले छिमेकि देश भारतमा कोरोना भाइरसको तेश्रो भेरियन्टले भयावह अवस्था सिर्जना गरेको छ । जसको प्रत्यक्ष असर नेपालमा पनि पर्छ । भारत र नेपाल खुल्ला सिमा जोडिएका देश भएकाले त्यसको असर पर्ने निश्चित छ ।

प्रदेश १ का झापा, मोरङ, सुनसरी, तप्लेजुङ्ग र इलाम का अधिकाशं क्षेत्र भारतसँग खुल्ला सिमा जोडिएका छन् । यसकारण पनि प्रदेश १ मा कोरोना फैलने उच्च जोखिम छ । यहि विषयलाई दृष्टिगत गरि प्रदेश सरकारले सिमा नाकामा कडाइ गरेको मन्त्री यादवले जानकारी दिए । 

‘यो विषयमा भरखरै मुख्यमन्त्रीको अध्यक्षतामा विभिन्न मन्त्रालयका मन्त्री, सुरक्षा निकायका तथा यो जोखिमसँग न्यूनिकरणमा भूमिका खेल्ने सबै अंगका प्रमुखहरुको उपस्थितिमा छलफल भएको थियो’, मन्त्री यादवले भने, ‘हामी आफैँमा सचेत नागरिक हौँ । विना कारण आवातजावत गर्नु अहिले आवश्यक छैन ।

र, जुन यो नाकाबाट आउने मानिसहरुलाई हामीले पनि विस्तारै कडाइका साथ आवात जावात गर्न दिनेछौँ । खाद्यान्नको सामान आपूर्ति गर्ने सावरीसाधनलाई चाहिँ आवगमन गर्न दिने तर आम पब्लिक मुभमेन्टलाई चाहिँ कम गर्नुपर्छ भनेर हामी लागिरहेका छौँ ।’

कोरोनाको नयाँ भेरियन्टले विकसीत देशलाई समेत आयलकायल बनाएको भन्दै उनले सबै नागरिकलाई स्वास्थय सुरक्षाका मपदण्ड पूर्ण रुपमा पालना गर्न र सावधानी अपनाउन अनुरोध गरेका छन् ।