काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४४ औँ स्मृति दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ । पुष्पलालको नेतृत्वमा २००६ वैशाखमा नेपाल कम्युनिस्ट पार्टीको स्थापना भएको थियो । श्रेष्ठले चार जना साथी निरञ्जनगोविन्द वैद्य, नारायणविलास जोशी, नरबहादुर कर्माचार्य र मोतीदेवी शाक्यसँग मिलेर पहिलो पटक नेकपा स्थापना गरेका थिए ।
वि.सं. १९८१ असार १५ गते रामेछापको भङ्गेरीमा उनको जन्म भएको थियो । नेपालमा मार्क्सवादी विचार फैलाउने प्रथम व्यक्तित्व र जनवादी क्रान्तिको कार्यक्रम अघि सार्ने सिद्धान्तकारका रुपमा पुष्पलाललाई लिने गरिन्छ। पुष्पलालको २०३५ साल साउन ७ गते भारतमा उपचारका क्रममा निधन भएको थियो ।