निजी स्कुलको बसबाट विद्यार्थी ओसारिरहेको जनता क्याम्पसले आफ्नै बस सञ्चालन गर्ने

न्युजलय १४ भदौ २०८०, बिहिबार ०३:५१ मा प्रकाशित

इटहरी । इटहरीस्थित जनता क्याम्पसले आफ्नै बस सञ्चालन गर्ने पक्का भएको छ । वरपरका निजी शैक्षिक संस्थाहरुको स्कुल बसमा विद्यार्थी ओसारिरहेको क्याम्पसलाई इटहरी उपमहानगरपालिकाले एउटा बस किनिदिने भएको हो ।


इटहरीको एक मात्र सामुदायिक क्याम्पस जनता बहुमुखी क्याम्पसमा ६ हजार बढी विद्यार्थी पढ्छन् । अहिले क्याम्पसले आधा दर्जन बढी बसहरुबाट विद्यार्थी ओसार्ने गरेको छ । इटहरीको ब्लुमिङ लोटस, शिक्षादिप, मकालु, बेबिलोन, हाम्रो बोर्डिङलगायतका स्कुलको बसले जनता क्याम्पसका विद्यार्थीलाई क्याम्पससम्म पुर्याउने गरिरहेका छन् । यातायातका लागि निजी विद्यालयका बसहरुमा भर परिरहेको क्याम्पसको नयाँ सञ्चालक समितिले आफ्नै दुई वटा बस किन्ने योजना बनाएकोमा एउटा बस उपमहानगरपालिकाले दिने भएको हो ।


इटहरीका मेयर हेमकर्ण पौडेलसँगको भेटमा सञ्चालक समितिले बसलगायत विभिन्न पुर्वाधार निर्माणको लागि आग्रह गरेकोमा मेयर पौडेलले एउटा बस उपलब्ध गराउने प्रतिबद्धता जनाएका हुन् । यस्तै कल्भर्टलगायत केही पुर्वाधारहरु कुनै तत्काल बनाइदिने भएको छ भने कुनै आगामी आर्थिक वर्षमा निर्माण गरिदिने भएको सञ्चालक समिति अध्यक्ष विकास केसीले जानकारी दिए ।


यस्तै उपमहानगरपालिकाले क्याम्पसलाईसमेत नियमित शैक्षिक अनुदान दिने भएको छ ।