वैदेशिक रोजगारीमा जाने ह्वात्तै बढे, मलेसियामा विशेष आकर्षण

न्युजलय २१ भदौ २०७९, मङ्गलबार ०२:१५ मा प्रकाशित

काठमाडौँ । वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या ह्वात्तै बढेको छ । साउनबाट विदेशिने नेपालीको संख्या झन्डै दोब्बर भएको छ । 

वैदेशिक रोजगार कार्यालय काठमाडौंका अनुसार हाल दैनिक २८ सय जनाको श्रम स्वीकृति जारी भइरहेको छ । साउनमा मात्रै ६३ हजार ४२ जनाले वैदेशिक रोजगारीमा जान अनुमति लिएका थिए । जसमा ६ हजार २ सय ४१ महिला छन्  ।

पहिलो पटक जानेको संख्या ६८ प्रतिशत छ भने बिदामा आएर फर्किने ३२ प्रतिशत छन् । मलेसियाबाट उच्च माग आएकाले संख्या ह्वात्तै बढेको हो । साउनमा सबैभन्दा बढी मलेसियामा २४ हजार ४ सय ८४ जना गएका छन् । हाल मलेसियामा न्यूनतम तलब १५ सय रिंगेट (४२ हजार रुपैयाँ) तोकिएको भएर पनि आकर्षण बढेको हो ।

यस्तै कतारमा १२ हजार ५ सय ७०, यूएईमा ८ हजार १ सय ४०, साउदी अरबमा ६ हजार ७ सय ५ र कुवेतमा ४ हजार २ सय ८४ जना गएका छन्  । असार मसान्तसम्म सबैभन्दा बढी कामदार जाने देश साउदी अरब थियो । गत वर्ष वैदेशिक रोजगारीमा जानेमध्ये ३० प्रतिशत साउदी गएका थिए ।

भदौमा पनि दोस्रो सातासम्म २७ हजारले श्रम स्वीकृति लिइसकेका छन्, जसमा सबैभन्दा बढी मलेसियाका लागि १२ हजार ५ सय ६१ जना छन् । 

गत आर्थिक वर्ष ६ लाख २८ हजार नेपाली वैदेशिक रोजगारीमा गएका छन् । यो संख्या ५ वर्षपछिको बढी हो । गत आर्थिक वर्ष रेमिट्यान्समार्फत १० खर्ब ७ अर्ब ३१ करोड रुपैयाँ मुलुक भित्रिएको छ । यो ४.८ प्रतिशत बढी हो ।