मेयर चौधरीले एमालेका नगर र जिल्ला अध्यक्षको नाम बिर्सेपछि .....

न्युजलय ३० फाल्गुण २०७८, सोमबार ०४:४२ मा प्रकाशित

इटहरी । इटहरी उपमहानगरपालिकाका मेयर द्वारिकलाल चौधरी पार्टी नेतृत्वप्रति आक्रामक देखिएका छन् ।

उनले सोमबार इटहरी वडा नं. ५ भवनको उद्घाटनको क्रममा पार्टीका इटहरी नगर अध्यक्ष याम सुब्बा र जिल्ला अध्यक्ष रेवती भण्डारीप्रति कटाक्ष गरेका छन् ।

उनले उपमहानगरपालिकाले गरिरहेको शिलान्यास र उद्घाटनबाट एमालेकै नेताहरुको बढी टाउको दुःखेको बताएका छन् । चौधरीले आफू पार्टीको भेला, सम्मेलन र चुनावकेन्द्रित प्रशिक्षण, अभिमुखीकरणमा नलागेर शिलान्यास र उद्घाटनमा लागेको भन्दै पार्टीलाई टाउको दुःखेको बताए ।

उनले नगर अध्यक्ष, उपाध्यक्ष, सचिव, जिल्ला अध्यक्षसमेत शिलान्यास र उद्घाटनमा नआएको बताए । ‘नगर अध्यक्ष नाम बिर्सेँ, थर सुब्बा होला, उपाध्यक्ष देख्या छ ? सचिव देख्या छ ?’ उनले भने, ‘जिल्ला अध्यक्ष यतै होलान्, नाम बिर्सेँ, थर भण्डारी होला । देख्या छ कतै शिलान्यास, उद्घाटनमा ? ठूलो पार्टीको ठूलै चाला ।’

नगरपालिकाको कार्यक्रममा पार्टीका नेताहरु नआएको भनेर कटाक्ष गरिरहँदा यता एमालेका नगर अध्यक्ष याम सुब्बाले भने कार्यक्रममा नबोलाएकोले नगएको बताएका थिए । उनले औपचारिक निम्तो नआएकोले मन हुँदा हुँदै पनि सहभागि हुन नसकेको न्युजलयलाई बताएका थिए ।

वडा नं. ५ को भवन उद्घाटनको क्रममा मेयर चौधरीले वडालाई जेनेरेटर दिने र इटहरीका अग्रज कम्युनिष्ट नेता तथा पुर्व गाविस अध्यक्ष प्रमोद श्रेष्ठको शालिकसहितको भवन बनाउनेसमेत घोषणा गरे ।