विराटनगर । नोबेल मेडिकल कलेजले एमबिबिएस प्रथम वर्षमा पढाइबाट वञ्चित भएका सबै विद्यार्थीलाई पढाइमा सहभागी हुन आग्रह गरेको छ।
विराटनगरस्थित नोबेल मेडिकल कलेज शिक्षण अस्पतालका प्रा.डा.रामहरि घिमिरेले बिहीबार विज्ञप्ति जारी गर्दै पढाइमा सहभागी हुन आग्रह गरेका हुन्।
चिकित्सा शिक्षा आयोगले तोकेभन्दा बढी शुल्क विद्यार्थीबाट नलिएको उल्लेख गर्दै कलेजले कुनै पनि विद्यार्थीप्रति पूर्वाग्रह नराख्ने भन्दै सबैलाई पढाइमा सहभागी हुन आग्रह गरेको छ।
एमबिबिएस १५औँ ब्याचमा भर्ना भएका ११० विद्यार्थीमध्ये १० जना अझै असुरक्षा भएको भन्दै पढाइमा सहभागी भएका छैनन्।
नोबेल मेडिकल कलेज, आयोग, काठमाडौं विश्वविद्यालय र शिक्षा मन्त्रालयबीच ३० पुस ०७८ मा भएको लिखित सहमतिलाई अक्षरशः पालना गर्ने पनि कलेजले प्रतिबद्धता जनाएको छ।
साथै, हालसम्म नियमित अध्ययन प्रक्रियामा समावेश नभएका विद्यार्थीलाई यथाशक्य चाँडो कलेजको सम्पर्कमा आएर अध्ययनमा सहभागी हुने वातावरण मिलाइदिन कलेजले आयोग र काठमाडौं विश्वविद्यालयलाई अपिल गरेको छ।
नोबेलले कानुनविपरीत होस्टललगायत विभिन्न बहानामा चर्को अतिरिक्त शुल्क असुल्न खोजेपछि विद्यार्थीहरू आन्दोलित भएका थिए।