काठमाडौं । नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीले एमसीसीको पक्षमा भोट दिन सहमती जनाएका छन् । तर त्यसको लागि संसदबाट व्याख्यात्मक घोषणा गर्नुपर्ने शर्त राखेका छन् ।
नेपाली कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीका दोस्रो तहका नेताहरुले यस्तो सहमती जनाएका हुन् । यता एमालेसँग भने सहमती नभएको काँग्रेस नेताहरुले जानकारी दिएका छन् ।
एमसीसीकै कारण गठबन्धन टुट्न नदिन शुक्रबार विहानदेखि माओवादी केन्द्र र एकीकृत समाजवादीका नेताहरु उपायको खोजीमा थिए । दिउँसो नै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले आफूहरुले विरोध गर्दै संसद बैठक बहिस्कार गर्ने र ध्वनि मतका आधारमा एमसीसी अनुमोदन गर्ने प्रस्ताव गरेका थिए । तर देउवा विश्वस्त हुन सकेका थिएनन् ।
व्याख्यात्मक घोषणामा केके राख्ने भनेर समेत तयारी भइसकेको छ । जसमा एमसीसी सैन्य रणनीति होइन, नेपाल र अमेरिकाको कानुन बाझिएको अवस्थामा नेपालको कानुन लागू हुन्छ, लेखा परीक्षण नेपालको महालेखा परीक्षकको कार्यालयले गर्छ जस्ता विषय राख्ने छलफलमा सहभागी नेताहरुले बताएका छन् ।
योसँगै शीर्ष नेताहरुसँग यो विषयमा सहमती जुटाउने प्रयास भइरहेको बताइएको छ ।