पार्टीमा आबद्ध भएका शिक्षक कर्मचारीलाई कारबाही गर्ने बालेनको तयारी

न्युजलय ८ भदौ २०७९, बुधबार ०२:५२ मा प्रकाशित

काठमाडौं । काठमाडौं महानगरपालिकाले महानगरअन्तर्गतका सबै शिक्षक तथा कर्मचारीहरूलाई दलीय आबद्धता त्याग्न निर्देशन दिएको छ । महानगरले शिक्षक तथा कर्मचारीलाई सदस्यता दिइएको भए तत्काल रद्द गर्न राजनीतिक दलहरूलाई समेत अपील गरेको छ । 


महानगर प्रमुख बालेन्द्र शाह बालेनले एक विज्ञप्ति जारी गर्दै शिक्षक तथा कर्मचारीलाई दलीय आबद्धतासँग सम्बन्धित कुनै पनि प्रकारको सदस्यता नदिन वा सदस्यता दिएको भए रद्द गर्न सम्बन्धित राजनीतिक दल, भ्रातृ संस्था वा शुभेच्छुक संस्थालाई अपील गरेका छन् ।

 

उनले राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा १४ को उपदफा (२) को खण्ड (ग) ले नेपाल सरकार, प्रदेश सरकार वा स्थानीय तहको स्वामित्व वा नियन्त्रणमा रहेको संस्थाको बहालवाला प्राध्यापक, शिक्षक वा कर्मचारीलाई कुनै पनि राजनीतिक दलले सदस्यता दिन नहुने व्यवस्था गरेको स्मरण गराएका छन् ।


साथै उक्त कानुन कार्यान्वयन गर्नको लागि अजित भण्डारीविरुद्ध प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय समेत भएको (मुद्दा नं. ०७८–ध्इ–०४०८) मुद्दामा उच्च अदालत पाटनबाट मिति २०७९।२।४ मा परमादेश समेत जारी भएको उनले विज्ञप्तिमा उल्लेख गरेका छन् । 


कुनै पनि कर्मचारीले राजनीतिक दल वा संगठनको सदस्यता लिन, राजनीतिक क्रियाकलापमा संलग्न हुन वा अन्य कुनै पनि राजनीतिक गतिविधिमा भाग लिन नपाइने व्यवस्था काठमाडौं महानगरपालिका कर्मचारी सेवा ऐन, २०७७ को दफा ४५ ले पनि गरेको उनले प्रष्ट पारेका छन् । 

 

महानगरप्रमुख बालेनलले कुनै कर्मचारी वा शिक्षकको दलीय आबद्धता देखिएआफूलाई [email protected] मा इमेल गर्न पनि आग्रह गरेका छन् ।