रुकुम । रुकुम पश्चिमको एक विद्यालयका विद्यार्थीहरू गत हप्तादेखि बिरामी रहेका छन् । त्रिवेणी गाउँपालिका ७ कुरलमा रहेको बालकल्याण आधारभूत विद्यालयका विद्यार्थीहरू बिरामी परेका हुन् ।
विद्यार्थीहरूमा अत्यधिक ज्वरो आउने, टाउको दुख्ने, खोकी लाग्ने जस्ता लक्षण देखिएको बिद्यालयले जनाएको छ । विद्यालयका प्रधानाध्यापक झुपलाल ओलीले बिरामी परेपछि विद्यार्थीहरू विद्यालय आउन छोडेको बताए ।
केही विद्यार्थीहरू सिम्रुतुमा रहेको मेडिकलमा उपचार गरेर घरमै रहेका र केही घरायसी उपचार गरेर बसेको उनले बताए । उनका अनुसार २० जना विद्यार्थी एक हप्तादेखि बिरामी छन् । विद्यालयमा आउने गरेका विद्यार्थीहरू पनि ज्वरो आउने, टाउको दुख्ने, खोकी लाग्ने समस्याबाट ग्रसित रहेका प्रधानाध्यापक ओलीले जनाए ।
बिरामी भएकै कारण अहिले विद्यालयमा पठनपाठन बन्द हुने अवस्था रहेको प्रधानाध्यापक ओलीको भनाइ छ । उपचार गराइरहेका विद्यार्थीहरूमा भाइरल ज्वरोको समस्या रहेको बताइएको छ ।
शिशुदेखि पाँच कक्षासम्म सञ्चालित यस विद्यालयमा ५० जना विद्यार्थी रहेका विद्यालयले जनाएको छ ।