काठमाडौं । सरकारी स्वामित्वको मोबाइल सेवा प्रदायक कम्पनी नेपाल टेलिकमले अन्ततः फाइभजी परीक्षण सुरु गर्ने भएको छ । काठमाडौंस्थित बबरमहल र सुन्धारा क्षेत्रबाट अङ्ग्रेजी वर्ष २०२३ को अवसर पारी कम्पनीले यो सेवाको परीक्षण गर्ने भएको हो ।
नेपाल टेलिकमका प्रवक्ता सोभन अधिकारीले नियामक नेपाल दूरसञ्चार प्राधिकरणबाट अनुमति पाएको करिब दुई वर्षपछि फाइभजी ट्रायल अघि बढाउन लागेको जानकारी दिए ।
‘जनवरी १ मा काठमाडौंबाट परीक्षण सुरु गर्नेछौँ,’ उनले भने, ‘काठमाडौंमा सफल भएको खण्डमा क्रमशः देशका सातै प्रदेशमा फाइभजी ट्रायल सुरु हुन्छ ।’यसअनुरूप अहिले उपकरण परीक्षणको काम भइरहेको उनले बताए ।
प्राधिकरणले परीक्षणका लागि २६०० मेगाहर्ज फ्रिक्वेन्सी उपलब्ध गराएको छ । यही फ्रिक्वेन्सीबाट परीक्षण थालिने प्रवक्ता अधिकारीले जानकारी दिए । परीक्षणबाट पत्ता लागेका कुरालाई अघि बढाउँदै त्यसबाट व्यवसायीक प्रयोजनबाट सुरु गर्ने योजना रहेको जनाएका छन् ।