घर पाएर मख्ख माझीवस्तीको जग्गा जब लिलामी प्रक्रियामा गयो ...

न्युजलय १५ कार्तिक २०८०, बुधबार ०८:३८ मा प्रकाशित

काठमाडौं । नायिका स्वेता खड्काको सक्रियतामा बनेको सिन्धुपाल्चोकको माझी बस्तीका जग्गा लिलामी प्रक्रिया रोक्न अन्तरिम आदेश जारी भएको छ । 


उच्च अदालत पाटनले मंगलबार लक्ष्मी सनराइज बैंक र रञ्जना खड्का (श्वेता खड्का)को कम्पनी श्वेताश्री फाउण्डेसनलाई १५ दिनभित्र अदालतमा उपस्थित भएर लिखित जवाफ पेश गर्न आदेशसमेत दिएको छ ।


श्वेताको फाउण्डेसनले नमुना बस्ती निर्माणको क्रममा माझीहरुले बैंकबाट लिएको ऋण आफूले व्यहोर्ने प्रतिबद्धता जनाएको थियो । तर अहिलेसम्म पनि ऋण भुक्तानी नभएपछि घरजग्गा लिलामी गर्न बैंकले प्रक्रिया अघि बढाएपछि माझीहरुले अदालत गुहारेका हुन् । 


धुर्मुस सुन्तलीको सिको गर्दै उनले पनि ५३ वटा घरसहितको माझी वस्ती निर्माण गरेकी थिइन् । सो क्रममा सहयोग गर्ने आश्वासन दिनेहरुले सहयोग नदिएको गुनसो उनले तीन वर्षअघि पनि गरेकी थिइन् । वस्ती निर्माणका क्रममा संसारभरीबाट सहयोग आएको थियो । आलोचकहरुले अभिनेत्री खड्काले उक्त रकम अपचलन गरेको समेत आरोप लगाएका छन् । तर खड्काले त्यसको खण्डन गर्ने गरेकी छिन् ।


माझीहरुले तीन लाख रुपैया आफूले अनुदान पाएको तर चार लाख रुपैयाको ऋणको भारी आफूहरुलाई बोकाइएको बताएका छन् । घर पनि उपयुक्त नभएको गुनासो उतीखेरै गरेका थिए । स्थानीय नगरपालिकाका अनुसार खड्काको संस्थाले ६० लाख रुपैया दिएको र त्यो पनि सरकारी अनुदान आएपछि फिर्ता गर्ने शर्त रहेको थियो ।