धरान । धरानमा बजार अनुगमन गर्दा म्याद गुज्रिएका र तौल कम भएका खाद्य सामान फेला परेका छन् । सोमबार धरान क्षेत्रका एक होटल र ७ वटा खाद्य (किराना) पसलको अनुगमन गर्दा म्याद गुज्रिएका र तौल कम भएका खाद्य सामान फेला परेका हुन् ।
धरान उपमहानगरपालिकाको बजार अनुगमन टोली, ईलाका प्रशासन कार्यालय धरान, नेपाल प्रहरी, नगर प्रहरी, घरेलु उद्योग कार्यालय इटहरीको टोली, उपभोक्ता मञ्च, सुनसरी उद्योग वाणिज्य संघ र पत्रकारहरुको संयुक्त टोलीले बजार अनुगमन गर्दा भेटाएका म्याद गुज्रिएका खाद्य समान नष्ट गरेको छ । तौल कम भएका खाद्य सामान जफत गरेको उपमहानगरपालिकाका अनुगमन अधिकृत वेदप्रसाद सापकोटाले जानकारी दिए ।
धरान १२ का राजेन्द्र शाहले संचालन गरेको गुप्ता किराना स्टोरमा अखाद्य र खाद्य बस्तु एकै ठाउँमा राखिएको पाइएको थियो । लेबलमा उपभोग्य मिति नभएकाले ५१ प्याकेट पापड नष्ट गरिएको हो । धरान १२ मा मन्दिरा लामिछाने र कृष्ण श्रेष्ठले संचालन गरेको बराह डिपार्टमेन्ट स्टोर प्रा.लीमा बराह फेमिली किचन लेखिएको बेकरी उत्पादन डिपार्टमेन्ट स्टोरमा भेटिएको हो । बराह डिपार्टमेन्टले बेकरी उत्पादन तथा बिक्री वितरण गर्ने भए खाद्य उद्योगको छुट्टै अनुमति लिनु पर्ने तर, नलिएको पाइएको छ । यस्तै, धरान १२ को पार्वती होटलमा नङ नकाँटी लड्डु बनाएर बिक्री गरेको पाइयो ।
धरान १ मा आरती शाहले संचालन गरेको न्यू गुप्ता इन्टरप्राइजेजमा दाल चिउरा आदी कम गरि बेचिएको घरेलु उद्योग कार्यालय इटहरीका प्रमुख राजन पाण्डेले जानकारी दिए । पाण्डेका अनुसार १ केजी बिक्री गर्नुपर्ने तर ९ सय ७५ ग्राम चिउरा प्याक गरि बिक्री गरेको र ९ सय ८० ग्रामको मुंग दाल प्याकेजिङ गरिएको, ९ सय ९० ग्राम मासको दाल बिक्री गरि ग्राहकलाई ठगी गरेको भेटिएको छ । जफत गरिएका सामानको कारबाही प्रकृया अगाडी बढाएको उपमहानगरले जनाएको छ ।
यस्तै गंगोत्री इन्टरप्राइजेजलाई अनुगमन टोलीले महको लेबल राखेर मात्र बिक्री गर्न निर्देशन दिएको छ । धरान १२ मा अमितकुमार कर्णले संचालन गरेको शान्ति चिया एण्ड किराना पसलमा बिल विजक बिनामा सामान बिक्रि गर्नुका साथै, खाद्य अखाद्य बस्तु एकै ठाउँमा बिक्री गरेको पाइएको हो । बिल नभएका ७ प्योकट पापड उपमहानगरले जफत गरेको जनाएको छ ।
अब केही दिन अनुगमनलाई तिव्रता दिने अनुगमन अधिकृत सापकोटाले बताए ।