धनकुटा । सङ्खुवासभाबाट धरानतर्फ आउँदै गरेको यात्रुबाहक बस धनकुटा नगरपालिका–९ स्थित च्याङच्याङबारीमा दुर्घटना भएको छ। शुक्रबार दिउँसो को १ ख ७७८८ नम्बरको बस अनियन्त्रित भई सडकमा पल्टिएर दुर्घटना भएको हो।
दुर्घटनामा परी १० जना घाइते भएका छन्। घाइते हुनेमा धरान–११ बस्ने २८ वर्षीया सबिता थापा, उनकी १६ वर्षीया छोरी आरुसी थापा, मोरङको सुन्दरहरैँचा नगरपालिका–११ बस्ने २६ वर्षीया अमृता तामाङ र उनकी ३ वर्षीया छोरी स्र्यान्सी तामाङ रहेका छन् ।
यसैगरी, सङ्खुवासभाको धर्मदेवी नगरपालिका–१ बस्ने ३४ वर्षीया अनिसा कटुवाल, ११ वर्षीया पवित्रा कटुवाल, धनकुटाको महालक्ष्मी नगरपालिका–६ बस्ने २५ वर्षीया सङ्गिता राई, मोरङको कानेपोखरी गाउँपालिका–६ बस्ने ४७ वर्षीय चक्रबहादुर तामाङ, सङ्खुवासभाको धर्मदेवी नगरपालिका–३ बस्ने १५ वर्षीया सञ्जिला खत्री र सोही स्थानका बस सहचालक ३५ वर्षीय इन्द्रबहादुर तामाङ घाइते भएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।
प्रहरीका अनुसार घाइतेहरूलाई थप उपचारका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको छ।