काठमाडौं । प्रधानमन्त्री कपका लागि प्रदेश १ को छनोटको तयारी स्वरुप सुनसरी जिल्ला क्रिकेट संघले मैत्रीपूर्ण क्रिकेट प्रतियोगिता आयोजना गरेको छ । सुनसरी र सप्तरीबीच प्रस्तावित जनता क्रिकेट पार्क इटहरीमा मैत्रीपूर्ण प्रतियोगिता आयोजना गरिएको थियो । मैत्रीपूर्ण खेलमा सप्तरी १०२ रनले विजयी भएको छ ।
निर्धारित २५ ओभरको खेलमा टस जितेर पहिला ब्याटिङ गरेको सप्तरीले २०४ रन बनाएको थियो । उसका लागि आशिष झाले अर्धशतकीय पारि खेलेका थिए । उनी ५४ रनमा आउट भएका थिए । यसैगरी कप्तान मेहबुब आलमले नटआउट ३५ रन बनाउँदा रोहन विकले ३४ रनको योगादन गरे ।
सुनसरीका सरोज बस्नेत र सुरज भगतले १–१ विकेट हात पारे । यस्तै २०५ रनको लक्ष्य पछ्याएको सुनसरी १६ ओभरमा १०२ रन बनाउँदा अलआउट हुन पुग्यो । सुनसरीका रितेश रायले सर्वाधिक २३ रन बनाउँदा गौरब कटुवालले २१ रनको योगदा गरेका थिए । सुनसरीको ब्याटिङ ध्वस्त पार्ने क्रममा सप्तरीका नितेश यादबले ४ तथा पप्पु यादबले २ विकेट लिएको सुनसरी जिल्ला क्रिकेट संघका अध्यक्ष चेतनाथ पौडेल (सीपी)ले जानकारी दिए ।