हाम्रा पुर्खाहरु यहिँ जन्मे, हुर्के अनि यहिँ मरे, हामी यो ठाउँ छोड्दैनौँ : मुसहर समुदाय

शंकर खत्री २२ पुस २०७८, बिहिबार ०१:०० मा प्रकाशित

इटहरी । इटहरी उपमहानगरपालिका वडा नम्बर १७ मा रहेको पकली चौकबाट करिब ५०० मिटरको दुरी पार गरेपछि ५० परिवार मुसहर समुदायको बासोबास रहेको ठाउँ पुगिन्छ । अहिले त्यहाँ ३ हजारको हाराहारीमा मुसहर समुदायको बसोबास रहेको छ । 


इटहरी उपमहानगरले यहाँ वहुवर्षे सडक योजना निर्माण गर्ने र यहाँका मुसहर समुदायका मानिसहरुलाई व्यवस्थापन गर्ने भन्दै वडा नम्बर १६ मा उनिहरुका लागि घर तथा आवश्यक संरचना तयार परिदिएको दुई वर्ष भयो । तर, यहाँका मुसहर समुुदाय त्यहाँ जान मानेका छैनन् । दुई वर्ष देखि ती संरचना यतिकै खाली छन् र मुसहर समुदायको प्रतिक्षा गरिरहेको छन् । उपमहानगरले तराई–मधेस समृद्धि कार्यक्रम अन्तर्गत त्यहाँ खानेपानी, ट्वाइलेट, चिल्ड्रेन पार्क, सामुदायीक भवन र मन्दिरसहितको १५ वटा संरचना तयार परेको छ । 


एक करोड २३ लाखमा निर्माण भएको ती संरचनामा नेपाल सरकारको तराई–मधेस समृद्धि कार्यक्रमले ९० प्रतिशत् र उपमहानगरले १० प्रतिशत खर्चेको छ । तर, मुसहर समुदायलाई पुर्वजानकारी विना नै घर लगायतका संरचना बनाएका कारण अहिले ती संरचना अलपत्र परेका हुन् ।


मुसहर समुदायले यो ठाउँमा आफ्नो पुस्तौँदेखि बसोबास रहेकाले छोडेर नजाने अडान राखेका छन् । ‘हाम्रो दादा, उपरदादा यहिँ जन्मीयो, यहिँ काम गर्यो, यहिँ मर्यो’, सोहि ठाउँका ५५ वर्षीया चम्रु ऋषिदेवले भने, ‘यो ठाउँमा हामी बसेको धेरै भयो । छोडेर जान सकिँदैन । यहाँ हामीले चिनेका सबै छन् ।’ उपमहानगरले बनाएको सो संरचना आफ्नो लागि उपयुक्त ठाउँमा नभएको उनले बताए । ‘त्यो नहर भन्दा पनि भित्र बनाको छ अरे । म त गएको छैन’, उनले भने, ‘अब त्यहाँ कसरी जानु । टाढा भयो त्यो हाम्रा लागि । हामी काम गरेर खाने मान्छे । त्यहाँ गयो भने त काम पनि पाइँदैन । त्यो भित्र कसले काम दिन्छ । यहाँ त नजिकै बजार छ काम पाइन्छ । इटहरी जान पनि नजिक छ । अगाडि गएर सफारीमा जाँदा एकैछिनमा पुगिन्छ । तर त्यहाँ त भित्र छ । आउन जान नै समय लाग्छ ।’


वडा नम्बर १७ को कुनै ठाउँमा उपमहानगरले जग्गाको व्यवस्था गरे आफूहरु जान तयार रहेको उनी बताउँछन् । तर, उपमहानगरले हाल तयार परेको ठाउँमा भने कुनै हालता आफूहरु नजाने उनको अडान छ । ‘यहि केहिँ गरिदिनु भनेको छौँ’, उनले भने, ‘१७ नम्बर भित्र कहिँ भए पनि हामी जान्छौँ । तर त्यो त टाढा भयो । हामी अँह जाँदैनौँ । अरुलाई नै लगेर राख्नु त्यहाँ ।’ परापुर्वकाल देखि बस्दै आएकाले समाजमा राम्रो चिनजान रहेको र गाह्रो अप्ठ्यारोमा हातेमालो गर्न पनि सहज हुँदै आएको उनी सुनाउँछन् । यसका साथै कुनै स्वास्थ्य समस्या आए पनि त्यसको उपचारमा पनि सहज भइरहेको छ उनले बताए । उपमहानगरले हाल निर्माण गरेको ती संरचनामा भने आफूहरुलाई यी सबै सुविधान नमिल्ने उनले सुनाए । 


‘यहाँ त केहि भयो भने सबैलाई गुहार्दा हुन्छ । सबै आउँछन्’, उनले भने, ‘त्यहाँ त रात विचमा केहि भयो भने के गर्ने ? त्यहाँ न हेल्थपोस्ट छ न अरु केहि छ । मान्छे बिरामी भयो भने लड्यो भने के गरेर लैजाने ? यहाँ त नजिक छ एक कल मार्यो भने गाडि लिएर आउँछ । बाटो नजिक छ । संरचना निर्माण गर्नुपूर्व उपमहानगरको तर्फबाट कसैले आफूहरुसँग सल्लाह नै नगरेको उनले सुनाए । बनाएपछि एक्कासी तिमिहरुलाई त्यहाँ सार्दैछौँ भन्दा आफूहरु छक्क परेको उनले सुनाए । ‘अँ ह कसैले भनेन । मेयरले पनि भनेन अरुले पनि भनेन’, उनले भने, ‘बनाइ सकेपछि मात्रै हामीलाई थाहा भयो । सार्ने थाहा पाएपछि हामीले वडालाई लिएर नगरपालिका गयौँ ।’ उनी बारम्बार बोल्दा यहिँ खोजेर दिए सर्ने नभए नजाने दोहोर्याइ रहन्थे । 


सोहि समुदायका अनिल सरदार भने उपमहानगरले संरचना बनाउन खर्चेको रकमले यहिँ कतै आफूहरुलाई जग्गा किनिदिएको भए उत्तम हुने बताउँछन् । ‘डेढ करोडमा घर बनाइदिएको भन्छ त्यहाँ’, सरदारले भने, ‘त्यसको सट्टा यहाँ जग्गा किन्देको भए त्यसको कति पुण्य हुन्थ्यो । त्यहि पैसाले यहाँ प्लटिङमा जग्गा किनिदिएको भए मुसहर त्यहाँ जान्थ्यो । अनि जस्तो मन लाग्छ रोड बनाएको भए भइहाल्थ्यो नि १ सबैको इच्छा पनि पुरा हुन्थ्यो । सबैको भनाइ नै त्यहि छ ।’ उनि पनि चम्रु ऋषिदेव जस्तै उपमहानगरले बनाइदिएको संरचनामा बसाइसराइ गरेर गए दैनिक ज्यालामजदुरीमा नै समस्या हुने गुनासो गर्छन् । काम पाउन समस्या भएपछि छोराछोरीको शिक्षादिक्षा र पारिवारिक गुजारामा नै समस्या हुने उनले बताए । ‘यहाँ काम धेरै पाउँछ । कमाइ पनि धेरै हुन्छ’, उनले भने, ‘उता लगेपछि एक दिन काम हुन्छ अर्को दिन हुँदैन । के खानु अनि छोराछोरीलाई कसरी पढाउनु ? अरु सुविधा पनि राम्रो छैन ।’


लामो समयदेखि बस्दै आएको ठाउँ भएकाले जे भए पनि यो ठाउँ आफूहरुले नछोड्ने सोहि समुदायकी जानकी ऋषिदेवको भनाइ छ । यहाँ लामो समयदेखि बस्दै आएकाले दैनिकिमा समस्या आए पसलबाट बाँकी समेत लिन मिल्ने उनी बताउँछिन् । उपमहानगरले बनाएको संरचनामा यी सबै सुविधा नपाउने उनको भनाइ छ । उपमहानगरले कतै घर बनाइदिए वा जग्गा किनिदिए पनि आफुहरु यो ठाउँ कुनै हालता छोड्ने पक्षमा नरहेको उनको भनाइ छ । (जानकीले उनको मातृभाषमा दिएको भनाइलाई हामीले नेपालीमा अनुवाद गरेर राखेका हौँ) ‘हामी पहिले देखि यहाँ बस्दै आएका हौँ । कतै पनि जाँदैनौँ कसैले केहि गरे पनि’, उनले भनिन्, ‘चाहे घर बनाइदिउन वा जग्गा नै दिउन हामी कतै जाँदैनौ यहाँबाट । अर्को गाउँमा गएर के गर्नु । यहाँ त हाम्रो चिनजानका छन् । यहाँ त अर्मपर्म उदारो (बाँकी) लिन पनि सकिन्छ चाहेको बेला । त्यो ठाउँमा त हामीले कोहि चिनेकै छैन । हामीलाई गाह्रो हुँदैन ? हामीलाई केहि गर्यो भने ?’


हामीले माथी उल्लेख गरेका ३ जना मात्रै होइन, मुसहर सुमदायको यो गाउँमा भेटीने प्रायः सबैको एकै स्वर छ, हामी यो ठाउँ छोड्दैनौँ । यसरी बारम्बार उपमहानगरले अनुरोध गर्दा पनि मुसहर समुदाय सर्न नमानेपछि उपहानगरले ती संरचनामा उपमहानगरका बिपन्न तथा गरिब परिवारलाई लैजाने तयारी थालेको छ । त्यसको लागि उपमहानगरले वडा नम्बर १६ का अध्यक्ष दीपनारायण चौधरीको संयोजकत्वमा तीन सदसीय टोली समेत गठन गरेको छ । सोहि समितिले तयार परेको प्रतिवेदनका आधारमा उपमहानगरभित्रका अति विपन्न तथा लक्षित समुदायलाई उपमहानगरले बनाएको संरचनामा सर्ने तयारी भइरहेको मेयर द्वारिकलाल चौधरीले बताए । उपमहानगरमा घरबारविहिन भएकाहरुलाई लगेर राखिने तयारी भइरहेको जानकारी दिए । त्यसको लागि अहिले उपमहानगरले लगत संकलनको कामलाई तिव्रता दिएको छ ।