जनकपुर । विगत केही दिनयता बढेको अत्यधिक चिसो र शीतलहरका कारण सिरहामा एक वृद्धाको कठ्याङ्ग्रिएर मृत्यु भएको छ । बुधबार साँझ चिसोले कठ्याङ्ग्रिएर सिरहाको कल्याणपुर नगरपालिका १ निवासी ६५ वर्षीया पल्टी सदाको मृत्यु भएको हो ।
घरमा चिसोले कठ्याङ्ग्रिएर बेहोस भएकी सदालाई उपचारका लागि अस्पताल लैजाने तयारी भइरहेकै बेला मृत्यु भएको कल्याणपुर(१ का वडाध्यक्ष राजाराम कामतीले जानकारी दिए ।
चिसोका कारण निमोनिया, कोल्डडायरीया, दम, रुघाखोकीका बिरामी बढ्न थालेका छन् । विशेष गरी ग्रामीण क्षेत्रका विपन्न बस्तीमा चिसोले बढी प्रभाव पारेको देखिएको छ । टोलटोलमा दाउरा बालेर आगो ताप्ने क्रम बढेको छ ।