प्रहरीमाथि लुटेरा समूहको आक्रमण, असई घाइते

न्युजलय ५ माघ २०७८, बुधबार ०५:१८ मा प्रकाशित

जनकपुरधाम । धनुषामा गस्तीमा खटिएको प्रहरी टोलीमाथि लुटेरा समूहले आक्रमण गरेको छ ।

धनुषा प्रहरी प्रमुखका अनुसार लुटेरा समूहको आक्रमणबाट एकजना प्रहरी सहायक निरीक्षक (असई) घाइते भएका छन् । घाइते हुनेमा बटेश्वरी प्रहरी चौकीमा कार्यरत असई मनोज पोखरेल छन् । टाउकोमा चोट लागेका पोखरेलको उपचार जारी छ ।

मंगलबार राति महोत्तरीको भंगहा नगरपालिका ७ बस्ने अमित पासवानको घरमा लुटपाट भइरहेको सूचना पाएपछि खटिएको गस्ती टोलीमाथि लुटेराहरुले आक्रमण गरेका थिए ।

प्रहरीमाथि आक्रमण गर्ने ५ जनालाई नियन्त्रणमा लिएर थप अनुसन्धान शुरु गरिएको प्रहरीले जनाएको छ ।