उर्लाबारीबाट एमाले नेता सहित ७ जना जुवाडे पक्राउ

न्युजलय १९ फाल्गुण २०७८, बिहिबार ०५:४८ मा प्रकाशित

 विराटनगर । मोरङको उर्लाबारीबाट नेकपा एमालेका नेता कृष्ण प्रधानसहित ७ जना जुवाडे पक्राउ परेका छन् । 

उर्लाबारी–७ स्थित प्रधानको घरमा तास खेलिरहेको अवस्थामा बुधबार (हिजो) साँझ प्रधान सहित ७ जनालाई जिल्ला प्रहरी कार्यालय मोरङबाट गएको प्रहरी टोलीले पक्राउ गरेको हो ।

प्रहरीले उर्लाबारी–५ का कमल शाक्य, उर्लाबारी–१ का कृष्ण अधिकारी, झुम्का रामधुनीका लक्ष्मी बास्तोला, झापा दमकका सूर्य प्रसाईँ, उर्लाबारीका गोविन्द केसी र शिव लिम्बूलाई पक्राउ गरेको मोरङ प्रहरीले जनाएको छ । 

पक्राउ परेका जुवाडेलाई इलाका प्रहरी कार्यालय उर्लाबारीमा राखिएको छ । प्रहरीले जुवाको खालबाट २ लाख ४२ हजार रुपैयाँ बरामद गरेको मोरङ प्रहरीले जनाएको छ । 

एमाले नेता प्रधानको घरमा जुवा खेलाउने गरेको गोप्य सूचनाको आधारमा जिल्लाबाट गएको प्रहरी निरीक्षकको टोलीले जुवाडे पक्राउ गरेको हो ।

पक्राउ परेका जुवाडेलाई इप्रका उर्लाबारीले जिल्ला प्रशासन कार्यालय मोरङमा आज म्याद थप गरी अनुसन्धान गर्ने भएको छ ।