बुद्धिजीवी परिषद्को सुनसरी अध्यक्षमा न्यौपाने

न्युजलय २८ फाल्गुण २०७८, शनिवार ०९:४९ मा प्रकाशित

इटहरी । नेकपा (एमाले) निकट नेपाल बुद्धिजीवी परिषद्को नवौं जिल्ला अधिवेशनले भुपेन्द्र न्यौपानेको अध्यक्षतामा ३५ सदस्यीय नयाँ कार्य समिति चयन गरेको छ । 

शनिबार इटहरीमा सम्पन्न अधिवेशनले उपाध्यक्षमा भेषराज घिमिरे, सचिवमा गिरीराज खतिवडा, सह–सचिवमा गोविन्द पुरी, कोषाध्यक्षमा तारा फुयाँलसहित ३५ सदस्यीय कार्यसमिति चयन गरेको छ । नेकपा एमाले १ नम्बर प्रदेश इञ्चार्ज देवराज घिमिरेको प्रमुख आतिथ्यतामा गरिएको कार्यक्रममा सुनसरीका १२ वटै पालिकाका वुद्धिजीवी शाखा कमिटीका पदाधिकारीहरुको उल्लेख्य सहभागिता रहेको थियो । 

नेकपा एमाले जिल्ला कमिटी सुनसरीको बुद्धिजीवी शाखा इञ्चार्ज हरिबहादुर कटुवालले सुनसरीका सबैजसो पालिकामा नेपाल बुद्धिजीवी परिषद्को पालिका कमिटी गठन गरिसकिएको र पार्टीका स्थानीय कमिटीमा पनि बुद्धिजीवीको छुट्टै शाखा कमिटी निर्माण गर्ने अभियान समेत सुरु गरिएको बताए । 

उद्घाटन सत्रका अवसरमा नेकपा एमाले केन्द्रीय सदस्य तथा इटहरी नगर उपप्रमुख लक्ष्मी गौतम, नेकपा एमाले जिल्ला कमिटी अध्यक्ष रेवतीरमण भण्डारी, प्रदेश सांसद सर्वध्वज साँवा लगायत बुद्धिजीवीतर्फका पुराना नेताहरुको समेत उपस्थिति रहेको थियो ।