काठमाडौं । विद्यालय बाहिर रहेका करिब २ लाख विद्यार्थीलाई विद्यालय ल्याउन वैशाख महिनाभर विद्यालय भर्ना अभियान सञ्चालन गरिने भएको छ । शिक्षा तथा मानवस्रोत विकास केन्द्रले वैशाखभरि भर्ना गर्ने र जेठबाट कक्षा सञ्चालन गर्ने गरी सबै विद्यालयलाई पत्राचार गरेको छ ।
केन्द्रका महानिर्देशक चूडामणि पौडेलले बुधबार नियमित भर्ना हुनेबाहेक विद्यालय बाहिर रहेका करिब २ लाख विद्यार्थीलाई समेत विद्यालय ल्याउने व्यवस्था गर्न वैशाख महिनाभरि भर्ना अभियान शुरू गर्न लागिएको जानकारी दिए । कोभिड–१९ का कारण लगातार दुई वर्षसम्म शैक्षिकसत्र धकेलिएको थियो । सरकारले विसं २०७९ को वैशाख २ गतेबाट भर्ना शुरू गरी वैशाखभर भर्ना गर्ने र जेठमा कक्षा सञ्चालन गर्ने व्यवस्था गरेको हो ।
सरकारले हरेक वर्ष वैशाख १ गतेबाट भर्ना अभियान सञ्चालन गर्ने गरेको थियो । महानिर्देशक पौडेलले भर्नासँगै विद्यार्थीको हातहातमा निःशुल्क पाठ्यपुस्तक पुर्याउने समेतको व्यवस्था गरेको जानकारी दिँदै भने– ‘जेठबाट नियमित कक्षा सञ्चालन भए पनि वैशाखमा पाठ्यपुस्तक पुर्याउने गरी निर्णय गरेका हौं ।’
यसअघि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले कोभिडका कारण जेठबाट शैक्षिकसत्र सञ्चालन गर्ने निर्णय गरेको थियो । केन्द्रले ‘सबै बालबालिका विद्यालय पठाऔं, शिक्षा प्राप्त गर्ने अधिकार सुनिश्चित गरौं’ भन्ने नाराका साथ भर्ना अभियान सञ्चालन गर्न लागेको हो ।
केन्द्रले भर्ना अभियानमा शिक्षाशास्त्र विषय अध्ययनरत् कक्षा ११ र १२ का विद्यार्थीलाई परिचालन गर्ने भएको छ । ती विद्यार्थीलाई प्रयोगात्मक कार्यको रूपमा आफ्नो घर छिमेकमा विद्यालय बाहिर रहेका वालबालिकाको लगत संकलन गर्ने, विद्यालय छाड्नुको कारण पत्ता लगाएर उनीहरूको समस्याबारे अध्ययन गर्ने, विद्यार्थी भर्ना गर्न घरदैलो, सडक नाटकजस्ता क्रियाकलाप सञ्चालन गर्न परिचालन गर्न निर्देशन दिइएको छ ।