इटहरी । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले सबै नेताहरूको सम्पत्ति छानबिन गर्नुपर्ने बताएका छन् । राप्रपा कोशी प्रदेश समितिले इटहरीमा गरेको विरोध सभालाई सम्बोधन गर्दै उनले यस्तो माग गरेका हुन् ।
भ्रष्टाचारविरुद्धको अभियानका लागि आफूसहित सबै नेताहरुको सम्पत्ती छानविन गर्न उनले माग गरे ।
उनले सम्पत्ति शुद्धीकरणको हतियार निकालेर एउटा राजनीतिक दलको सभापतिलाई चलाइसकेको बताउँदै आफूमाथिसमेत त्यो हतियार चलाउन चुनौति दिए । उनले भने, ‘क–कसको सम्पत्तीको स्रोत के हो ? त्यो छानबिन हुनुपर्यो, सम्पत्ति शुद्धीकरणको तरबार निस्किसक्यो अब दापमा नराख्नुस्, चलाउनुहोस् ।’
कार्यक्रममा बोल्दै राप्रपाका प्रवक्ता ज्ञानेन्द्र शाहीले देशको विकास गर्ने हो भने कृषिमा क्रान्ति गर्नुपर्नेमा जोड दिए । उनले प्रत्यक्ष कार्यकारीको व्यवस्था हुनुपर्ने बताए ।
यस्तै पूर्व भूमि सुधार मन्त्री रामकुमार सुब्बाले राप्रपाले देशमा भएका राजनैतिक विकृतिहरू हटाउन अभियान सुरु गरेको बताए ।