इटहरी । इटहरी उपमहानगरले निर्माण गरेको अधारभूत स्वास्थ्य इकाई भवन मध्ये शनिबार (आज) ३ वटा भवनको उद्घाटन गरिएको छ ।
उपमहानगरका मेयर द्वारिकलाल चौधरी र उपमेयर लक्ष्मी गौतमले वडा नम्बर १०, ११ र १३ नम्बर वडाको स्वास्थ्य इकाई भवनको संयुक्त रुपमा उद्घाटन गरेका हुन् ।
उद्घाटन कार्यक्रममा बोल्दै मेयर चौधरीले स्वास्थ्य इकाई भवनले गाउँ गाउँमा स्वास्थ्य सेवाको सहज पाहुँच विस्तारमा सहयोग गर्ने विश्वास व्यक्त गरे। साथै उनले आज भोलि नै जनशक्ती व्यवस्थापन गरेर स्वास्थ्य इकाईबाट सेवा प्रभाव गरिने समेत जानकारी दिए ।
उपमेयर गौतमले गत वर्ष सिलन्यासको लहर चलाइएको र अहिले उद्घाटको लहर चलाईएको बताईन् । आफू निर्वाचित भएको वर्ष नै गाउँ गाउँमा स्वास्थ्य सेवाको पहुँच विस्ताको प्रतिवद्धता गरेको र अहिले सो प्रतिवद्धता पुरा गरेको उनले बताइन् ।
उपमहानगरका स्वास्थ्य शाखा प्रमुख घनश्याम सिग्देलले स्वास्थ्य चौकीकै स्तरमा स्वास्थ्य इकाई भवन र सेवा सुरु गरीएको जानकारी दिएका छन् । सामान्य रुघाखोकी लाग्दा नै धेरै समय लागे मुख्य चौकमा रहेका अस्पताल धाउनु पर्ने बाध्यता स्वास्थ्य इकाई हटाएको उहाँको भनाइ छ ।
साथै बालबालिका, महिला, जेष्ठनागरिक र अपांगताभएकाहरुलाई यसले झन् सहजता भएको साथै समय र पैसाको समेत बचत भएको उनको भनाइ छ । विशेषगरि सुत्केरी महिलाई भिडियो एक्सरे मार्फत् आफू र बच्चाको अवस्थाबारे जानकारी लिन ठूला अस्पताल र क्लिनिक जानुपर्ने बाध्यता हट्ने उनको विस्वास छ ।
उपमहानगरले एकै पटक १४ वटा वडाहरुमा स्वास्थ्य इकाई भवनको निर्माण सम्पन्न गरेको छ । अहिले ति भवनको धमाधम उद्घाटन भइरहेको छ । हिजो मात्रै उपमहानगरको वडा नम्बर १८, १९ र २० को स्वास्थ्य इकाई भवनको उद्घाटन गरिएको थियो ।