राजविराज । प्रदेशसभा सदस्य अनिरुद्ध प्रसाद सिंह यादव कर्तव्य ज्यान र डाका मुद्दाको आरोपमा पक्राउ परेका छन् ।
सप्तरीको बोदेबरसाइन नगरपालिका–५ का प्रदेशसभा सदस्य यादवलाई सोमबार दिउँसो राजविराजबाट प्रहरीले पक्राउ गरेको हो ।
घरबाट आफ्नो निजि प्रदेश २–०१–००१च०५०१ नम्बरको कार चढी सदरमुकाम राजविराज आएको बेला उनलाई पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ ।
यादव गत प्रदेशसभाको निर्वाचनमा सप्तरीको प्रदेशसभा ४ को २ बाट निर्वाचित भएका हुन् । जनता समाजवादी पार्टीका स्थानीय प्रभावशाली नेता मानिएका उनलाई पार्टीले टिकट नदिएपछि उनी स्वतन्त्र उम्मेदवारी दिँदै निर्वाचित भएका हुन् ।
उनले आफूमाथी लगाइएको आरोप झुठा रहेको दाबी गरेका छन् । पक्राउ लगत्तै उनलाई हिरासतमा राखी अनुसन्धान गर्न अनुमतिका लागि सप्तरी जिल्ला अदालतमा उपस्थित गराइएको थियो । अदालतले समय अभाव देखाउँदै मंगलबार उपस्थित गराउन आदेश दिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
प्रहरीका अनुसार २०६४ साल असार ९ गते सोही नगरपालिका क्षेत्रमा भएको कर्तव्य ज्यान र डाकाको एक घटनामा यादवसमेतको संलग्नता रहेको भन्दै स्थानीय रिताकुमारी चौधरीले ९ जना बिरुद्ध किटानी जाहेरी दिएकी थिइन् ।