इटहरी । निर्माणकार्य हुने मुख्य सिजनमा सिमेन्ट उद्योगीहरूले कार्टेलिङ गरी मूल्य बढाएका छन् । दशैं अघिसम्म पाँच सय पचास रुपैया हाराहारी पाइने सिमेन्टको भाउ बढाएर अहिले सात सय देखि आठ सय रुपैयासम्म पुर्याइएको छ ।
उद्योगहरुले उत्पादनमा समेत कटौती गरी मूल्य बढाएका हुन् । निर्माण कार्य ठप्प झैं हुँदा अघिल्लो वर्ष देशका धेरै सिमेन्ट उद्योगहरुले उत्पादन घटाएका थिए भने कतिपय उद्योगहरु बन्द नै भएका थिए । अहिले निर्माण कार्य सुरु भएको मौका छोपेर उद्योगीहरुले मूल्य बढाएपछि त्यसको विरोध सुरु भएको छ । देशभरका निर्माण व्यवशायीहरुले कालाबजारी भएको भन्दै विरोध जनाएका छन् । उनीहरुले मूल्यवृद्धि फिर्ता नलिए निर्माण नै ठप्प पार्ने चेतावनी दिएका छन् ।
उद्योगीहरुको विरोधपछि एक साताअघि उद्योगीहरुले मूल्य घटाएको घोषणा गरेपनि व्यवहारमा लागु नभएको सुनसरीका हार्डवेयर व्यवशायीहरुले जानकारी दिएका छन् । व्यवशायी तारा कट्वालका अनुसार मूल्य घटाउने भनेपनि झन् झन् बढाइएको छ । सुनसरी हार्डवेयर व्यवशायी संघर्ष समितिले मूल्यवृद्धि तत्काल घटाउन माग गरेको छ ।
समितिका अनुसार सिमेन्टको मूल्य रु ३७५ र ४६५ लाई वृद्धि गरि ६४० देखि ७३५ पुर्याइएको छ । ढुवानीको मूल्य, कच्चा पदार्थको मूल्य, बैंक व्याज आदि स्थिर रहेको अवस्थामा समेत सिन्डीकेट खडा गरी कोटा प्रणाली लागु गरी कृत्रिम अभाव सृजना गरीएको उनीहरुको आरोप छ । आइतबार सुनसरीभरीका हार्डवेयर व्यवशायीहरुको भेलाले एक विज्ञप्ती जारी गर्दै भनेको छ, कालोबजारी गर्ने नियत राखि अत्यधिक मूल्य वृद्धि गराएका छन्, यस्तो मूल्य वृद्धिले न त व्यवसायीलाई न त सर्वसाधारण उपभोक्तालाई राहत दिन्छ, बरु निर्माण व्यावसायिमा देखिएको आर्थिक संकटलाई अझै गहिरो बनाउँछ।
व्यवशायीहरुले सिमेन्टको मूल्य वृद्धी फिर्ता गर्न माग गरेका छन् । यस्तै अनावश्यक मूल्य वृद्धि रोक्न सरकारको सक्रियताको समेत माग गरेका छन् ।
मागहरु तत्काल सम्बोधन नभए सिमेन्ट अर्डर नगर्ने तथा गरेको अर्डर पनि क्यान्सिल गर्ने चेतावनी दिएका छन् । चरणबद्ध आन्दोलनका कार्यक्रम सार्वजनिक गर्दै व्यवशायीहरुले सुनसरी जिल्लामा आउने सिमेन्टका गाडि प्रवेशमा रोक लगाउने र अनलोड गर्ने घोषणा गरेका छन् ।
थप आन्दोलन तथा विरोधका कार्यक्रमहरु पुस २५ गते पछि घोषणा गर्ने जनाइएको छ ।