काठमाडौँ । भोजपुरको साल्पासिलिछो गाउँपालिकाका अध्यक्ष महेश राईविरुद्ध बहुविवाहको जाहेरी दर्ता गर्न प्रहरीले आलटाल गरेको छ ।
हिमालय राईले नेपाली कांग्रेसका नेतासमेत रहेका राईविरुद्ध शुक्रबार महानगरीय प्रहरी वृत्त बौद्धमा बहुविवाहको जाहेरी दर्ता गर्न खोजे पनि प्रशासनले नमानेको गुनासो गरिन् ।
बौद्धका डीएसपी ढुण्डिराज न्यौपानेले भने दुवै पक्षलाई छलफलका लागि कालीमाटी महिला सेलमा पठाइएकाले त्यहाँ के भयो भन्ने कुरा बुझेर मात्र जाहेरी दर्ता गरिने बताए ।
नेपाली कांग्रेसका नेताहरूको दबाबमा प्रहरीले जाहेरी दर्ता गर्न नमानेको पीडित पक्षको गुनासो छ। हिमालयले महेश र भोजपुरको हतुवागढी ४ स्थायी घर भई काठमाडौँको बुढानिलकण्ठ १० कपन बस्दै आएकी ४५ वर्षीया माया राईलाई विपक्षी बनाएर बहु विवाहको जाहेरी दर्ता गर्न खोजिरहेकी थिइन् ।
हिमालयका अनुसार महेशले उनलाई गत मंसिर १३ गते राई सम्प्रदायको परम्पराअनुसार विवाह गरेका थिए । त्यसपछि महेशको बुढानिलकण्ठ १० कपनस्थित घरमा बस्दै आएकी हिमालयलाई गत फागुन १६ गते घर प्रवेश गर्नबाट रोकिएको थियो ।
मायाले आफू महेशको श्रीमती भएको दाबी गर्दै गेटमा साँचो लगाएर घर प्रवेश गर्नबाट रोक लगाइएको थियो । जेठी श्रीमतीको मृत्युपछि महेशले आफूलाई विवाह गरेर जेठीपट्टिकी छोरीसँग कपनमा राख्दै आएको भए पनि विवाह दर्ता प्रमाणपत्र नगरेको मौकामा आफूलाई निकालेर मायालाई भित्र्याउन खोजेको आरोप हिमालयको छ ।
उनका अनुसार महेशले मायासँग विवाह गरेको भनी दर्ताका लागि मिति सच्याएर गत मंसिर २ गते नै निवेदन दिएजस्तो बनाएको पनि बताएकी छिन् । आफूसँग महेशको श्रीमती भएको प्रमाण प्रशस्त भएकाले महेशले बहु विवाह मुद्दामा सजाय पाउनु पर्ने उनको माग छ ।