तनहुँमा सडक दुर्घटनामा परेर मृत्यु भएका सबैको पहिचान खुल्यो

न्युजलय ३० फाल्गुण २०७८, सोमबार ०१:५९ मा प्रकाशित

तनहुँ । तनहुँको ऐनापहरा सडक दुर्घटनामा परेका मृतक तीनै जनाको पहिचान खुलेको छ । मृत्यु हुनेमा टाटासुमो चालक जिल्लाको शुक्लागण्डकी नगरपालिका–८ का ३६ बर्षीय ओमप्रकाश गुरुङ र ४५ बर्षीय लक्ष्मीकुमारी शाही रहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरिक्षक युवराज खड्काले बताए । 


७३ बर्षीय रुद्रबहादुर सेन ठकुरीको यसअगाडी नै पहिचान खुलेको थियो । तिनै जनाको उपचारको क्रममा चितवनस्थित पुरानो मेडिकल कलेजमा मृत्यु भएको उनले बताए ।


आइतबार दिउँसो पृथ्वी राजमार्ग अन्तर्गत जिल्लाको आँबुखैरेनी गाउँपालिका–२ ऐनापहरामा यात्रुवहाक बस र टाटासुमो एक आपसमा ठक्किँदा दुर्घटना भएको हो । चितवनबाट पोखरातर्फ आउँदै गरेको ग २ ख ३०७ नम्बरको बस र विपरित दिशाबाट गईरहेको ग ३ च ६०१२ नम्बरको टाटासुमो ठोक्किँदा १३ जना घाइते भएका थिए । टाटासुमो बससँग ठोक्किएर सडकबाट अन्दाजी पाँच मिटर तल खसेको थियो । 


टाटासुमोमा सवार ९ जना र बसमा सवार ४ जना घाइते भएका हुन् ।