जनकपुरधाम । रेलमा एसिड पोखिएपछि नेपालको एक मात्र रेलमा आगलागी भएको छ । समयमै निभाएका कारण ध्वस्त हुनबाट भने जोगिएको छ ।
बिहीबार दिउँसो ३ बजेर १५ मिनेटमा जयनगरबाट कुर्थातर्फ आउने क्रममा जगनगरको १ नम्बर गेटबाट निस्केको केहि बेरमै रेलको एउटा बग्गीबाट धुँवा निस्किन थालेको थियो ।
रेल्वे विभागका महाप्रबन्धक निरन्जन झाका अनुसार तत्कालै नियन्त्रणमा लिइएको कारण ठूलो क्षति हुनबाट जोगिएको हो । धुवा निस्केर आगलागी हुने सम्भावना देखिएपछि बग्गीमा सवार यात्रुबीच भागाभागको स्थिति बनेका थियो ।
एसिड बोकेका पुरुष फरार छन् । सोही बग्गीमा ५ किलोको सानो ग्यास सिलिण्डर पनि राखिएको थियो । रेलमा एसिड ग्याँस जस्ता प्रज्वलनशील पदार्थ लिएर यात्रा गर्न पाइँदैन । सँगै बसेका दुई जना महिलालाई भारतीय प्रहरीले नियन्त्रणमा लिई नेपालको सशस्त्र प्रहरीलाई जिम्मा लगाएको छ । थप अनुसन्धान भइरहेको महाप्रबन्धक झाले बताए ।