सुनसरीमा स्कारपिओ दुर्घटना हुँदा एक जनाको मृत्यु, ५ जना घाइते

न्युजलय २६ माघ २०७८, बुधबार ०२:१० मा प्रकाशित

इटहरी । सुनसरीको कोसी गाउँपालिका ६ शिव चोकमा मङ्गलबार राति स्कारपिओ दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् ।


पूर्व क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय इटहरीका अनुसार पूर्व-पश्चिम लोकमार्गअन्तर्गत कोसी गाउँपालिकामा पूर्वतर्फ आउँदै गरेको प्रदेश २ ०१ ००१ च ००३१ नम्बरको स्कारपिओ सडकमा रोकेर राखिएको बिआर ०१ जिए ४४८३ नम्बरको ट्रकमा पछाडिबाट ठोक्किएर दुर्घटना भएको हो। प्रहरीका अनुसार ट्रकमा राति ८ः५० बजेतिर स्कारपिओ पछाडिबाट ठोक्किएको हो।


पछाडिबाट टोक्किएर अनियन्त्रित बनेको स्कारपिओ पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको अर्को ना ७ ख ५८३ नम्बरको ट्रकमा समेत ठोक्किदाँ स्कारपिओमा सवार सप्तरीको हनुमाननगर कङ्कालिनी ५ का ५० वर्षीय दिलिप मण्डलको मृत्यु भएको प्रहरीले जनाएको छ। दुर्घटनामा परेर गम्भीर घाइते भएका मण्डलको उपचारका क्रममा राति १० बजेतिर मृत्यु भएको हो।


दुर्घटनामा हनुमाननगर कङ्कालिनी ५ का ६० वर्षीय लक्ष्मण साफी, ३६ वर्षीय राजेश मेहता, ४४ वर्षीय रामकुमार राजक, ४८ वर्षीया रामकुमारीदेवी रजक र ५० वर्षीय उमेशकुमार साफी घाइते भएका छन् ।


घाइतेमध्ये लक्ष्मणको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । उनीहरूको विराटनगरस्थित नोबेल अस्पतालमा उपचार भइरहेको छ। स्कारपिओको तीव्र गतिका कारण दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । यद्यपि, घटनाबारे थप अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ।